फागुन ११,धादिङ

चुनाव प्रचारप्रसार र मतदातासंग भेटघाटको लागि नेपाली काँग्रेसका नेता रमेश धमला उत्तरी धादिङको रुवीभ्याली क्षेत्रमा घरदैलो गरिरहनु भएकाे छ ।

आसन्न फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्हमा भोट माग्दै धमला आइतबारदेखिनै उत्तरी धादिङको रुवीभ्याली घुमिरहनु भएकाे छ ।

धमलासंगै नेपाली काँग्रेस धादिङबाट समानुपातिक उम्मेद्वार रहेका सेतेमान तामाङ लगायत जिल्ला स्तरीय नेताहरु समेत रुवीभ्याली घरदैलोमा सामेल छन् । रुवीभ्याली गाउँपालिकासंग धमलाको छुट्टै साइनो छ ।

आइतबार साँझ लापाको ठुलो गाउँमा मतदाताहरुसंग भेटघाट र अन्तरक्रिया गरेका धमलाले सोमबार विहान लापाको खाँदिङ पुगेर स्थानीयहरु मत  माग्नुभएकाे छ ।

लापाका मतदाताहरु संग भेटघाटको क्रममा नेता धमलाले साविकको लापा गाविसमा मोटरेवल वाटो आफ्नो पहिलोे प्राथमिकतामा रहने बताउनुभएकाे छ । 

लापा गाविसमा गाउँपालिकाको पहलमा भर्खरैमात्र कच्चीबाटोको ट्याक पुगेको छ । रुवीभ्याली गाउँपालिका भौगोलिक बनावटले गर्दा केही असहज देखिएपनि त्यसैलाई सदुपयोग गर्नसकेमा यही क्षेत्र सवैको गतब्य बन्न सक्ने तर्फ औँल्याउदै धमलाले भन्नुभयो , ‘हामीले यहाँको भुगोल र संरचनालाई चिन्न सकेनौं, सदुपयोग गर्न सकेनौं ।

यहाँको भुगोल, जीवनस्तर रहनसहन र परम्परालाई देखाएर आकर्षक पर्यटकिय क्षेत्र बनाउने हो भने यो भुगोल स्वर्ग बन्न सक्छ ।’

यस क्षेत्रको जनताको जीवनस्तर सुधार्न र दैनिक जनजीवन उकास्ने पहिलो आधार सडक र पर्यटन नै भएकाले सडक र पर्यटन केन्द्रित पुर्वाधारको योजना निमार्ण र कार्यान्वयमा आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार विहान देखि लापाका गाउँ गाउँमा घरदैलो अभियान गरिरहेका धमलाले खादिङ हुदै लब्चेत, कब्चेत कपुर गाउँसम्म पैदलयात्रा गरेका छन् ।  सोमबार साँझ तिप्लिङ पुगेर त्यहाँका मतदातासंग धमलाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

२०७४ सालमा संघियता घोषणा पछि स्थानीय तहहरुको पुनरसंरचना गर्दा तत्कालिन नेपाली काँग्रेस धादिङको तर्फबाट यस क्षेत्रलाई रुवीभ्याली नाम राख्ने गरी धमलाले गरेको प्रस्ताव सर्वसम्मत पारित भएको क्षण सम्झदै स्थानीयहरुले अव यस क्षेत्रको विकास र सम्वद्र्धनको लागि पनि रमेश धमलाकै खाँचो रहेको बताएका छन् ।

यस्ता छन धमलाका उत्तरी धादिङ केन्द्रित विकासका योजना

1. साँकोष तिप्लिङ (दामन पाख्रिन) सडकको स्तरउन्नरी, विकास र कालोपत्रेमा पहल गर्ने

2. उत्तरी धादिङमा निर्माणाधिन र निर्माण गर्ने योजनामा रहेको जलविद्युत आयोजनाहरुमा जनताको स्वामित्व र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्नको लागि आवश्यक पहलकदमी गर्ने,

3. उत्तरी धादिङको भीरपहरा र कन्दराहरुमा रहेको भीरमौरीहरुको महसंकलनमा आधुनिकता भित्राई प्रशोधन गर्ने र राष्टिय तथा अन्तराष्टिय बजारमा निर्यातको लागि नीतिनियम बनाउन पहलकदमी लिने,

4. रुवीभ्याली गाउँपालिका र खनियाबास गाउँपालिका केन्द्रिय चिस्यान केन्द्र स्थापना गरी त्यस क्षेत्रका उत्पादनहरुलाई बेमौसममा बजार पुर्याउने योजना,

5. रुवीभ्याली गाउँपालिका र गणेश हिमाल क्षेत्रलाई पर्यटन हवको रुपमा विकास गर्ने, माउन्टेनरिङ स्कुल स्थापनामा पहल गर्ने,पदमार्ग, होमस्टे र माउन्टेन हवको रुपमा विकास गरी स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने

Facebook Comments