धादिङको सदरमुकाम धादिङबेसीमा आजदेखि एक महिने गुरुङ भाषा शिविर तथा स्यामा घलेक बुनाई तालिम सुरु भएको छ। गुरुङ समुदायको भाषा, संस्कृति र परम्परागत सीप संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

कार्यक्रममा गुरुङ जनप्रतिनिधि, गुरुङ समुदायका अगुवा तथा तालिममा सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमूस्योको अध्यक्षतामा सम्पन्न भएको उद्घाट समारोहमा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्की केन्द्रिय महासचिव दल कुमारी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दल कुमारी गुरुङले गुरुङ समुदायको मौलिक भाषा र सीप संरक्षण आजको आवश्यकता भएको बताउनुभयो।

उहाँले पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक भाषा र परम्परागत सीप हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता तालिमले नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। “भाषा र संस्कृति नै हाम्रो पहिचान हो, यसलाई जोगाउन हामी सबै एकजुट हुनुपर्ने बताउनुभयो । साथै कार्यक्रमका विशेष अतिथि तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अनुगमन तथा निर्देशन समिति सदस्य गणेशबहादुर गुरुङले गुरुङ भाषा सिक्ने र स्यामा घलेक बुनाई जस्ता परम्परागत सीपलाई व्यावसायिक रूपमा विकास गर्न सकिने बताउनुभयो ।

विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताउनुभयो। “स्यामा घलेक हाम्रो पहिचानसँग जोडिएको कला हो, यसलाई आधुनिक बजारसँग जोड्न सके आर्थिक आम्दानीको स्रोत पनि बन्न सक्छ,” उहाँले भन्नुभयो। यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्वजबहादुर गुरुङले यस्ता तालिम राज्यबाट पाईने भएकाले आफ्नो व्यक्तीगत लगानीमा नभई राज्यसँग माग गर्नुपर्ने बताउनुभयो ।

स्थानिय सरकारले विभिन्न जातिगत भाषा संस्कृति संरक्षण तथा सम्वद्र्धनको लागि सहयोग गर्ने बताउनुभयो । एक महिना प्रयाप्त नभएपनि यो भन्दा बढि समय भाषा तथा स्यामा घलेक बुनाई तालिम सञ्चालन गर्नुपर्ने र त्यो तालिम सञ्चालन गर्न लाग्ने खर्चको व्यवस्थापन तथा आवशयक सहयोग वडा तथा नगरपालिकाबाट गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । एक महिने तालिम अवधिभर सहभागीहरूलाई गुरुङ भाषाको आधारभूत ज्ञानदेखि बोलचाल, लेखन तथा संस्कृतिसँग सम्बन्धित विषयहरू सिकाइने तमूस्यो ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमूस्योले बतानउुभयो। साथै, स्यामा घलेक बुनाई तालिम अन्तर्गत परम्परागत डिजाइन, धागो छनोट, बुनाई प्रविधि र उत्पादनको बजारीकरणबारे पनि व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

तालिममा विभिन्न उमेर समूहका महिला तथा युवाहरू भाषा शिविरमा ४० जना र स्यामा घलेक बुनाईमा १५ जनाको सहभागिता रहेको छ। विशेषगरी नयाँ पुस्तालाई लक्षित गर्दै आयोजना गरिएको यस कार्यक्रमले भाषा संरक्षणसँगै सीप विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । एक महिना सम्म्म गुरुङ भाषा शिविरमा सरिता तमूस्यो र स्यामा घलेक बुनाईमा बिम माया तमस्योले सहभागीहरुलाई प्रशिक्षण दिनुहुने छ ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि गुरुङ समुदायको मौलिक संस्कृति जोगाउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले भाषा, पोशाक, कला र संस्कृतिलाई पुस्तान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए। उनीहरूले परम्परागत सीपलाई व्यावसायिक रूपमा विकास गर्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुने र आर्थिक सशक्तिकरणमा योगदान पुग्ने बताएका छन्।

धादिङबेसीमा सुरु भएको गुरुङ भाषा शिविर तथा स्यामा घलेक बुनाई तालिमले गुरुङ समुदायको भाषा, संस्कृति र परम्परागत सीप संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ। साथै, यसले महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Facebook Comments