२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आयल निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान

आयल निगमले समस्या नभएको दावी गरे पनि ग्यास नपाएर उपभोक्ता हैरान
सेयर गर्नुहोस्
०सेयर

बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ । मध्यपूर्वको तनावले गएको फागुन/चैतमा ग्यासको अभाव भोगेका उपभोक्ताले अहिले फेरि सहजरुपमा ग्यास पाउन सकेका छैनन् ।

नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दाबी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कुर्न बाध्य छन् । ग्यास सहजै पाउन नसकेको हप्ता/दश दिन भैसकेको छ । यसअघि आधा सिलिन्डर ग्यास दिइरहेको आयल निगमले गएको असार ३१ गते यता फेरि भरी सिलिन्डर बजारमा पठाउन थालेपछि समस्या शुरु भएको हो ।

एक्कासी भरी सिलिण्डरको माग बढ्दा बजार असहज भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो । गएको चैत २९ गतेदेखि आधा सिलिण्डर अर्थात् ७.१ केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो ।

अहिले फेरि १४.२ केजीको भरी सिलिन्डर वितरण शुरु भएपछि खाली सिलिन्डर साट्न लाइन बढेको निगमको दाबी छ । अहिले बजारमा माग बढेर ६० हजार मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ ।

निगम प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक ४५ देखि ५० हजार मेट्रिक टन ग्यास खपत हुन्छ । ग्यास नपाइने हो कि भनेर सञ्चय गरी राख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह छ ।

निगमले अस्ति शनिवारदेखि काठमाण्डौको टेकुबाट समेत ग्यास बिक्री गरिरहेको छ । तर त्यहाँ पनि सहज नरहेको उपभोक्ताको गुनासो छ । निगमका अनुसार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण भैरहेको छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।