अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढी मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ । गाउँमा बाढी पसेपछि त्यहाँका बासिन्दा छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य भएका छन् ।
लगातारको वर्षापछि मर्स्याङ्दी नदीको जलसतह बढेर गाउँमा बाढी पसेको नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङले जानकारी दिनुभयो । तालगाउँमा ६४ घरधुरीको बसोबास रहेको छ ।
निरन्तरको वर्षासँगै विभिन्न ठाउँमा विद्युतीय पोलमा क्षति हुँदा विद्युत् आपूर्ति र सञ्चार सेवासमेत अवरुद्ध भएको छ । विसं २०७८ जेठ १४ र असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढी गाउँ पूर्ण रुपमा डुबान परेको थियो । गाउँ डुबानमा परेपछि बगर बनेको थियो ।
नासोँ–७ र ८ जोड्ने मर्स्याङ्दी नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको नासोँ–८ का वडाध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले पुल आवतजावत अवरुद्ध भएको छ ।
चामे गाउँपालिका–४ को तीन घरसमेत घट्टेखोलामा आएको बाढीले क्षति पुगेको स्थानीय फुर्वा लामाले जानकारी दिनुभयो । स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
चामेको घट्टेखोलाको बाढीले जोखिम बढी भएको छ । मर्स्याङ्दी नदी तथा खाना घट्टेखोलामा आएको बाढीले मनाङको सदरमुकाम चामे र तालगाउँ लगायतका ठाउँमा जोखिम बढेको छ ।









