
पुस २७ ।
सदरमुकाम धादिङबेशीमा सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला उपचार केन्द्रको स्थापना गरिएको छ । विभिन्न स्वास्थ्यसमस्यालाई आयुर्वेदिक पद्दतीबाट उपचार गर्ने उद्देश्यसहित उक्त केन्द्रको स्थापना गरिएको केन्द्रका संचालक बुद्धिमान शाक्यले जानकारी दिनुभयो ।
केन्द्रले स्थापनाको अवसरमा विहिबारबाट निशुल्क स्वास्थ्य शिविरसमेत संचालन गरेको छ । धादिङबेशी शान्तबजारमा रहेको आफ्नै उपचार केन्द्रबाटै शिविर संचालन गरिएको हो । शिविरमा मलद्धारमा हुने पाइल्स, फिस्टुला, फिसरका रोग, छाला तथा सौन्दर्यसम्बन्धी रोगहरुको उपचारकासाथै औषधी समेत वितरण गरिरहेको छ ।
यस्तै स्त्री रोग, हाडजोर्नीको समस्या, युरिक एसिड, पेटको समस्या आदिको समेत उपचार भइरहेको छ । शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ राजकिशोर शाह लगायतको टिमले सेवा दिइरहेको छ । विहिबारबाट सुरु भएको शिविर शनिबारसम्म चल्नेछ । ३ दिनसम्म चल्ने शिविरको विहिबार पहिलो दिन ३ सय ५० जनाले स्वास्थ्य जाँच गराएको उपचार केन्द्रका संचालक बुद्धिमान शाक्यले जानकारी दिनुभयो ।
विशेष गरि पछिल्लो समय विषादीयुक्त खाद्यवस्तुको प्रयोगको मात्रा बढेसँगै मानिसमा विभिन्न रोगहरुबाट संक्रमण हुने क्रम बढेकोले आयुर्वेदिक पद्दतीबाट यसको निराकरण गर्न सहयोग गर्ने उद्देश्यले सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला उपचार केन्द्र स्थापना गरिएको शाक्यले बताउनुभयो । आयुर्वेदिक पद्दतीबाट उपचार गराउदा स्वास्थ्य समस्या निराकण हुुनुकोसाथै यसमा कुनै पनि रासायनिक औषधी प्रयोग नहुने हुदा शुद्ध रुपमा उपचार हुने शाक्यले बताउनुभयो ।