
तस्विर: उज्यालो अनलाईन
फागुन १६ ।
आज राष्ट्रिय शोक मनाइदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको ज्यान जाने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनापछि सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
बुधबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज बिहीबार राष्ट्रियशोक मनाउने निर्णय गरेको हो । सरकारले आज सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय शोक मनाउने क्रममा देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । यस्तै, दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
दुर्घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझाव सहितको प्रतिवेदन बुझाउन गठन भएको आयोगले आजबाट छानविनको काम सुरुगर्दैछ । सरकारले यथाशीघ्र पेश गर्न गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ को नियम १० बमोजिम चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।
आयोगको अध्यक्षमा सरकारका पूर्वसचिव यज्ञ प्रसाद गौतम रहनुभएको छ भने सदस्यहरुमा नेपाली सेनाका सहायक रथी दीपक प्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।