
फागुन २६, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको गजुरीबाट प्रहरीले एक सय पाँच किलो अबैध लागू औषध चरेश बरामद गरेको छ । चरेश संगै प्रहरीले चरेश ओसार पसारमा संलग्न रहेको आशंकामा ३ जनालाई पक्राउ गरेको छ भने भाडाको बस पनि नियन्त्रणमा लिएको छ ।
वरामद गरिएको चरेश र पक्राउ परेका व्यक्तिलाई आज दिउँसो जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । काठमाण्डौंबाट विरगंञ्जतर्फ जाँदैं गरेको ना ५ ख २८१२ नम्बरको बस आईतबार विहान ४ वजे तिर गजुरीबजारमा रोकी चेक जाँच गर्नेक्रममा ५ वटा वोरामा प्याक गरी ल्याएको अवस्था उक्त चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ग्रामीण भेगबाट ठुलो परिणामको चरेश बिक्रीका लागि लैजाने तयारी भईरहेको विशेष सुराकीको आधारमा अवैध लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले वताउनुभयो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरीका निरीक्षक नवराज ढुंङ्गेल र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीका बिशेष कमाण्ड राजमार्ग क्षेत्रमा खटिएको पनि वैदवारले बताउनुभयो ।
प्रहरीले चरेश ओसार पसारमा संलग्न रहेको आशंकामा बसका चालक पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर ८ का ४५ बर्षिय लालवहादुर साह,सह चालक वारा जिल्ला करैयामाई गाउँपालिका वडा नम्बर ७ का ३५ बर्षिय अनिल चौधरी र विवाहको लागि भन्दै बस रिजर्भमा लिएर आएका पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का १९ बर्षिय श्रीराम साह कानूलाई पक्राउ गरी जिल्ला अदालत पेश गरेको छ । पक्राउ परेका सबैलाई अनुसन्धानका लागि न्यायीक हिरासतमा राखिएको प्रहरी उपरिक्षक वैदवारले जानकारी दिनुभयो ।