वैशाख १८, रि–तावल ।
विगत लामो समयदेखी खानेपानीको समस्या भोग्दै आएका रि तावलका स्थानियहरु घर घरमै पानी आएपछि खुशी भएका छन् ।

खानेपानी घरमै आउन थालेपछि दैनिक जिवनयापनमा धेरै सहज भएको माईली तामाङ बताउनुहुन्छ । गाउँमै खानेपानीको अभाव हटेपछि मेलापात गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ ।

“पानी लिनका लागि घण्टौँ कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउन, मेलापात गर्नसमेत गाह्रो भएको थियो”, खुकमाया विकले भन्नुभयो, “अहिले समयको पनि बचत भएको छ, बिहान घरधन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको छ ।” घरमै पानी आउँला भनेर कल्पना समेत नगरेका तावलका स्थानियहरु अहिले दंग छन् ।

धदिङको गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावलमा निर्माण गरिएको खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । हिम्स नेपाल र यूनाईटेड मिशन टु नेपाल धादिङ क्ल्स्टर (UMN)को साझेदारीमा निर्माण भएको खानेपानी आयोजना हस्तान्तरण गरिएको हो । नेपाल सरकारको ‘एक घर, एक धारा’ कार्यक्रम अन्र्तरगत निर्माण गरिएको खानेपानी आयोजनाले तावलका ३ सय घर धुरी लाभान्वीत भएका छन् ।

२७ लाख ८६ हजार ७ सय १७ संस्थाको लगानी तथा ४ लाख २० हजार ७ सय १८ सामुदायिक योगदान गरि ७३ लाख ८३ हजार ७ सय १८ रुपैयाँको लागतमा तावल खानेपानी नाला निर्माण र ४१ लाख ८६ हजार ३ सय १ रुपैयाँमा तावल खानेपानी योजना निर्माण सम्पन्न भएको यूएमएनका शिव अधिकारीले जनाकारी दिनुभयो ।

हिम्स नेपालका अध्यक्ष जिवन तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमकै अवसरमा प्रमुख अतिथि पाख्रीनले तावल गाउँलाई नमुना गाउँ बनाउन स्थानिय निकाय, विभिन्न संघ संस्था, नागरिक समाज एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । अहिले बनेको खानेपानीका धारा, नाला लगायत निर्माण सम्पन्न भएका खानेपानी योजनालाई दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

Facebook Comments