
जेठ ७, धादिङ ।
प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उनले घटनामा बाँच्न सफल बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि उहाँले आग्रह गर्नुभयो । यस्तै, सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले यो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने धारणा राख्नुभयो । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । गएराति स्थानीय धनराज शेर्मा र उहाँका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर भेटिएको वडाध्यक्ष हस्तराज फियाकले बताउनुभयो ।
३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षका सीता खजुम भागेर बाँच्न सफल भएकी छन् । उनको आरुबेटेको स्वास्थ्यचौकीमा अहिले उपचार भइरहेको छ ।