
तस्विर पाविल न्यूज
जेठ २६, धादिङ ।
जिल्लामै पहिलो पटक आयोजना गरिएको मेयरकप अन्र्तरगत भलिवल प्रतियोगीतामा छात्रा तर्फ पञ्चकन्या माध्यमिक विद्यालयले र छात्र तर्फ धादिङ बोर्डिङ उच्च माद्यमिक विद्यालयले जितेको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा न्यु किवो बोर्डिङ स्कुलको ब्यवस्थापनमा सदरमुकाम धादिङवेशीमा मेयर कपको आयोजना गरिएको हो । पञ्चकन्याले एड्भान्स एकेडेमीलाइ फाइनलमा हराएर उपाधी जितेको हो । २५–२१ र २५–१५ ले लगातार दुइ सेट जितेको पञ्चकन्या माध्यमिक विद्यालयले तेस्रो सेट २३–२५ ले गुमाएको थियो । यो सँगै चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै पञ्चकन्या माद्यमिक विद्यालयले नगद ४० हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै छात्रतर्फ धादिङ बोर्डिङ स्कुलले वडा नं १२ को पशुपती माद्यमिक विद्यालयलाइ पराजित गर्दै प्रथम भएको छ ।
२५–२०, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्दै धादिङ बोर्डिङले ४० हजार राशीको प्रथम पुरस्कार हात पारेको छ । नगरपालिका क्षेत्रभित्रका १८ वर्षमुनिका विद्यार्थीहरु सहभागी हुन पाउने गरि आयोजना गरिएको प्रतियोगीतामा छात्रातर्फ ७ विद्यालय र छात्रतर्फ १५ विद्यालय सहभागी भएको खेल संयोजक विकास कोईरालाले जानकारी दिनुभयो । यसैगरि मेयर कप अन्तरगत नै खुल्ला फुटवल प्रतियोगीता भने चलिरहेको छ । देशभरका जुनसुकै फुटवल क्लव सहभागी हुन पाउने गरि आयोजना गरिएको प्रतियोगीतामा २० टिमको सहभागीता रहेको छ ।