साउन २ ।

भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल ल्याउन सुरु भएको छ ।

बुधबार दिउँसो १२ बजेदेखि बिहारको पटनाबाट पाइपमा तेल पठाउन सुरु गरिएको र बिहीबार मध्य रातिसम्म पाइप भरिँदै बाराको अमलेखगञ्जसम्म आइपुग्ने डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।

पाइप भरिन २१ सय किलोलटर अर्थात २१ लाख लिटर तेल लाग्नेछ । सुरुमा पाइप भरेर राखेपछि पछि भारतमा एक क्लिक गरेपछि क्षणभरमै नेपालमा तेल आउनेछ । नेपालमा डिजलको माग धेरै भएकाले पहिलो चरणमा पाइपलाइनमार्फत डिजल मात्रै ल्याइनेछ । अहिले अमलेखगञ्ज डिपोको दैनिक माग २० लाख लिटर रहेकोमा पाइपलाइनबाट एक घण्टामै २ लाख लिटर डिजल नेपाल आउने उज्यालो अनलाईनले खबर लेखेको छ । पाइपलाइन २४ घण्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल आउने र यसले नेपालको माग धान्ने सकिने निगमले जनाएको छ । पाइपलाइनबाट आउने डिजल भण्डारनको लागि अमलेखगञ्जमा  ४१ लाख लिटर क्षमताका २ ओटा र ३९ लाख लिटर क्षमताका २ ओटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयांकी निर्माण भैसकेका छन् ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्नका लागि अमलेखगञ्जमा कन्ट्रोल रुम निमार्णको काम पनि अन्तिम चरणमा पुगेको छ । कन्ट्रोल रुम बन्न ढिलाइ हुने भएकाले सुरुमा मान्छेले नै पाइलाइनको व्यवस्थापन गर्ने पनि अमलेखगञ्जका डिपो प्रमुख यादवले जानकारी दिनुभयो ।

३० गतेसम्म उद्घाटन

अहिले पाइपलाइन भरेर राखे पनि नियमित तेल भने ल्याइने छैन । भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीले एकैपटक स्विच थिचेर उद्घाटन गर्ने गरी तयारी भैरहेको निगमले जनाएको छ ।

‘हाइ लेभलबाटै उद्घाटन गर्ने गरी तयारी भैरहेको छ, अगष्टको १५ तारिखसम्म यो उद्घाटन भैसक्नेछ, अहिले पाइप भरेर राख्ने हो, औपचारिक उद्घाटनपछि मात्रै नियमित तेल ल्याइनेछ’, निगमका प्रवक्ता विरेन्द्र गोइतले उज्यालो अनलाइनसँग भन्नुभयो ।

Facebook Comments