
आसोज ४, धादिङ ।
साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रह पश्चात अमेरिकाले साउदीमा सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउनको साथै रक्षात्मक प्रयोजनको लागि साउदी अरेबियमा अमेरिकी सेना पठाउन लागेको हो । गत साता साउदी अरेबियाका २ ठूला सरकारी तेल प्रशोधन केन्द्रमा रासायनिक ड्रोन हमला भएपछि अमेरिकाले आफ्नो सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । तर अमेरिकाले साउदीमा आफ्नो सेना कहिले र कतिको संख्यामा पठाउने भन्ने बारे केहि खुलाइएको छैन ।

इरानको समर्थन पाएको यमनको हुथी बिद्रोहीले साउदीको दुइ ठूला सरकारी तेल प्रशोधन केन्द्रमा गरेको रासायनिक ड्रोन हमलाको जिम्मा लिएपछि अमेरिकाले साउदी अरेबियाको सुरक्षाका लागि सेना पठाउन लागेको हो । साउदी अरेबिया र अमेरिकाले तेल प्रशोधन केन्द्रको आक्रमण हुथी बिद्रोहीको नभइ इरानको भएको दाबी गरेपनि इरानले दुबै देशको दावीलाइ अस्वीकार गरेको छ । साउदीको सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमण पश्चात साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।