असोज ६, धादिङ ।
धादिङको ज्वालामूखी गाँउपालिकाको वडा नं. ४ बाँझोगह्रामा एक खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । शान्ति नेपाल र वडा नं. ४ को साझेदारीमा वडा नंं. ४ को बाँझोगह्रामा एक घर एक धारा निर्माण गरिएको हो । शान्ति नेपालको २ लाख ४२ हजार ५ सय ८२, वडा कार्यालयको ३ लाख, समुदायको नगद ४२ हजार ६ सय र १ लाख ३३ हजार १ सय श्रमदान गरि जम्मा ७ लाख १८ हजार २ सय ८२ को लागतमा आयोजना सम्पन्न भएको हो ।

आयोजनाबाट १२ घरधुरीका ४७ जना लाभान्वित भएका छन् । हस्तान्तरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एंवम् गाँउपालिकाको अध्यक्ष विनोद राज तिमल्सिनाले वडा नं. ४ कै पिछडिएको र कुनै संस्थाको प्राथमिकतामा नपरेको गाँउमा शान्ति नेपाल संस्थाले उक्त गाँउको खानेपानीको समस्याको पहिचान गरी योजना संचालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

यसैगरि खानेपानी आयोजना निर्माणमा सहयोग पु¥याउने संस्था शान्ति नेपाललाई धन्यवाद दिंदै वडा अध्यक्ष कृष्णबहादुर गुरुङले खानेपानी योजनाको संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । साथै प्रत्येक घरमा एक धारा संगसंगै स्वच्छ गाँउको सुचकहरु जस्तैः शौचालयको उचित प्रयोग, भाडा सुकाउने मचानको व्यवस्था, सुधारिएको चुलोको प्रयोग, फोहोर व्यवस्थापनका लागि बोराको प्रयोग गर्ने गरेको प्रस्ट संग देख्न पाँउदा गाँउपालिका अध्यक्ष द्घारा खुशी व्यक्त गर्दै सरसफाईको दोस्रो चरणमा प्रवेश गरेकोमा समुदायलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथी शान्ति नेपालको परियोजना संयोजक विष्णु भट्टले सुरक्षित खानेपानीको सुनिश्चितताको र आयोजनाको दिगोपनाका लागि बेलाबेलामा खानेपानीको गुणस्तर जाँचगर्नुपर्ने र मर्मत सम्भार कोषको व्यवस्था गर्नुपर्ने भनि सुझाव दिनुभयो ।

बाँझोगह्रा खानेपानी उपभोक्ता समितीका अध्यक्ष फत्तबहादुर भट्टको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा ज्वालामूखी गाँउपालिकाको अध्यक्ष विनोद राज तिमल्सिनाको प्रमुख आतिथ्य तथा वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर गुरुङ र शान्ति नेपालका परियोजना संयोजक विष्णु भट्टको विशेष आतिथ्य र वडा सदस्य नरेन्द्र भट्टको अतिथ्य रहेको थियो ।

Facebook Comments