कात्तिक ५, धादिङ  ।
धादिङमा राहादानी बनाउने संख्यामा वृद्धि भएको छ । डिभि भर्नको लागि राहादानी अनिवार्य सर्त लागू गरेपछि धादिङमा राहादानी बनाउनेको संख्यामा वृद्धि भएको हो ।

यो आर्थिक वर्षको ३ महिनाको अवधिमा मात्रै १ हजार ३ सय ९३ जनाले राहादानी बनाएका छन् । भने १ हजार १ सय ६३ जनाले द्रुत सेवा मार्फत धादिङबाट राहादानीको लागि फारम भरेका छन् । साउन महिनामा ५ सय २९, भदौमा ५ सय ६६ र असोज महिनामा ५ सय ४५ जनाले राहादानी बनाएका हुन् । भने कात्तिक १ देखि ४ गते सम्मको अवधीमा ४ सय २२ जनाले द्रुत सेवा मार्फत राहादानीको लागि सिफारिस लिएका छन् ।

विगतका वर्षहरुमा दिनको २० देखि २५ जनाले मात्र द्रुत सेवा मार्फत राहादानीको सिफारिस लिने गरेको भएपनि अहिले २ सय देखि ३ सयको हाराहारीमा जिल्ला प्रशासन कार्यलय धादिङबाट द्रुत सेवा मार्फत राहादानीको सिफारिस लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुराँगाईले बताउनुभयो ।

डिभि भर्नका लागि राहादानी अनिवार्य गरेपछि राहादानी बनाउनेको संख्यामा वृद्धि भएको हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी गुँरागाईले बताउनुभयो । मिडियामा आएको कुराको आधारमा र सेवाग्राहीले डिभि भर्नको लागि छिटो चाहिएको भन्ने प्रतिmक्रियाको कारणले पनि डिभि भर्नकै लागि राहादानी बनाउनेको संख्यामा वृद्धि भएको हो, सहायक प्रमुख जिल्ला अधिकारी गुँरागाईले बताउनुभयो ।

राहादानी बनाउनेहरुमा तुलनात्मक रुपमा पुरुष र महिला बराबर रहेको सहायक प्रमुख जिल्ला अधिकारी गुँरागाईले बताउनुभयो । धादिङ जिल्लामा गत आर्थिक वर्ष ६ हजार १ सय ७ जनाले राहादानी बनाएका थिए भने ३ हजार ८८ जनाले द्रुत सेवा मार्फत राहादानीको लागि सिफारिस लिएका थिए ।

Facebook Comments