कात्तिक ६, धादिङ ।
धादिङको सदरमुकाम धादिङबेसीमा सञ्चालित औषधी पसलहरुको आज अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङकोे संयोजनमा आज गरिएको छड्के अनगुमनमा अधिकांश औषधी पसलहरुले बिक्री वितरण गर्दा बिलको प्रयोग नगर्ने गरेको पाइएकोे छ ।
औषधी पसल अनुगमनको क्रममा बिक्री वितरण बिल नभएको, बिक्री गरिएको औषधीको अपडेट नगरिएको भेटिएपछि सचेत गराईएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद शर्माले बताउनुभयो । अनुगमनका क्रममा भेटिएका कमि कमजोरीबारे एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन टोलीले निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय, धादिङ उद्योग बाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका संस्थाका प्रतिनिधिले धादिङबेसीका १५ ओटा औषधी पसलहरुको अनुगमन गरेका थिए । अनुगमनका क्रममा केहि औषधी पसलमा व्यवसाय दर्ता प्रमाणपत्रहरु ग्राहकले देखिने गरी नराखिएको, प्रयाप्त स्थानको अभाव, विल नदिने जस्ता कमजोरीहरु देखियो भने क्लिनिकहरुमा वडापत्र नरहेको, व्यवसायसँग सम्बन्धित कागजातहरु अद्यावधिक र व्यवस्थित नगरिएको पाइएकोले ७ दिनभित्र सबै व्यवस्थापन गर्न निर्देशन पनि दिएको छ ।