
पौष १५, धादिङ ।
आज तमू ल्होसार, धादिङ लगायत देशभर विविध कार्यक्रम गरी मनाइदै छ । गुरुङ समुदायले मृग वर्गलाई बिदाइ गरी मुसा वर्गलाई स्वागत गरेर बिशेष उत्साहका साथ यो पर्व मनाउने तयारी गरेको छ । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग परिवर्तनको दिनका रुपमा ‘तमु ल्होसार’ मनाइने गरिन्छ ।
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष मृगको वर्ष थियो भने यस वर्ष मुसाको वर्ष ( च्यु ल्हो ) रहेको हो । ल्होसारको अवसरमा सदरमुकाम धादिङबेशीस्थित मदन आश्रित भवन परिसरमा गुरुङ संस्कृति झल्कने विविध सांस्कृतीक कार्यक्रमसहित शुभकामना आदनप्रदान कार्यक्रमका आयोजना गरिएकोे छ ।
नेपाल तमु विद्यार्थी छोज धीँ जिल्ला कार्य समिती धादिङ र समुद्र आमा तमुस्यो ह्युल छोज धी धादिङले सँयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेकोे हो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साङगीतिक प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । तमु ल्होसारलाई गुरुङ जातिले भव्यताको साथमा मनाउने गर्छन् । गुरुङ जातिमा तमु ल्होछारको छुट्टै महत्व छ ।
आदिवासी जनजातीहरुले आफ्नो संस्कार संस्कृति जगेर्नाको लागि भन्दै विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । आदवासी जनजाती मध्येको गुरुङ जातिले हरेक वर्ष तमु ल्होछारलाई भव्यताको साथमा मनाउने गर्छन् । हरेक वर्ष पुष महिनाको १५ गतेलाई गुरुङ समुदायले नया वर्षको रुपमा ल्होछार मनाउने चलन छ ।
जातिगत पहिचान, संस्कृति र सभ्यताको खोजअनुसन्धान भएसँगै गुरुङ समुदायले ल्होछार मनाउन थालेका छन् । जातिगत पहिचान, संस्कार र संस्कृतिको प्रचारप्रसार, संरक्षण गर्नुपर्छ भन्दै गुरुङ समुदाय लागि परेका हुन् ।
विशेष गरि आफन्त जम्मा भएर, ठुलाबडाबाट आशिर्वाद लिएर, मिठो परिकार खाएर नाचगानको साथमा रमाइलो गर्दै ल्होछार मनाउने गरिन्छ । तर अहिले पछिल्लो समय ल्होछार मनाउने तरिकामा परिर्वतन हुदै गएको धादिङका अर्जुन गुरुङ बताउनुहुन्छ ।
नेपाल बहुल जाती, बहु भाषाभाषीका मानिसहरुको बसोबास रहेको देश हो । विभिन्न जातजातिको आ–आफ्नै संस्कृति र परम्परा रहेका छन् । तीनै संस्कार संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व पनि हो किनभने संस्कृति संरक्षण गर्नु भनेको देशको पहिचानको संरक्षण गर्नु हो । तमु ल्होछारको सबैलाई शुभकामना ।