माघ ८, धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ नजिक आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका सेते गुरुङ, प्रेमबहादुर गुरुङ, ध्वजबहादुर गुरुङ, बेलबहादुर गुरुङ, पूर्ण नारायण श्रेष्ठ, विदुर गुरुङ र तिलकबहादुर गुरुङ रहेको छ ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थीत ढोला मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक दुर्घटना भएको हो । चालकको लापारबाहीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनुभयो । दुर्घटनामा परी ३७ जना भन्दा बढी घाईते भएका छन् ।
गम्भीर घाईते ११ जनालाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । घाईतेहरु सुर्य बहादुर घले, दिनेश गुरुङ, रोशन गुरुङ, पूर्णबहादुर गुरुङ, कमलबहादुर मल्ल, नविन राई, चुमन राना मगर, धनबहादुर मल्ल, पदमबहादुर गुरुङ, निरबहादुर र नारायण श्रेष्ठलाई हेलिकम्पटर मार्फत काठमाण्डौं लगिएको हो ।
यस्तै पछि ६ जनालाई एम्बुलेन्स् मार्फत काठमाण्डौं लगिएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । अन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।
नीलकण्ठ नगरपालिकाद्वारा सार्वजनिक विदाको घोषणा, हेलिकप्टर चार्टको खर्च समेत व्यहोर्ने
निलकण्ठ नगरपालिकाले ट्रक दुर्घटनामा परी मृत्यु हुनेको शोकमा आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको एप मार्फत सूचना जारी गर्दै मृतकका सबै परिवार जनमा गहीरो समवेदना प्रकट गर्दै दुर्घटनामा परि घाइते सबैको सिघ्र स्वास्थलाभको कामना समेत गरेको छ ।
घाइते र मृतकको परिवारलाई नीलकण्ठ नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै २०७६ माघ ८ गते नीलकण्ठ नगरपालिकामा शोक मनाउंदै सार्वजनिक बिदा दिने घोषणा गरेको हो । यस्तै गम्भीर घाईतेहरुको लागि प्रयोग गरिएको हेलिकप्टर चार्टरको सबै खर्च समेत निलकण्ठ नगरपालिकाले व्यहोर्ने भएको छ ।