१९ असार, धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ भीत्रका किसानहरुको लागि नीलकण्ठ नगरपालिकाले चियाको विरुवा वितरण गरेको छ । नगरपालिकाको एक वडा एक उत्पादनको कार्यक्रम तथा नीति अनुसार यस वडालाई चियाको पकेट वडा बनाउन विरुवा वितरण गरिएको हो । यस वडाको माथिल्लो क्षेत्र नीगालपानी, झगरे, दुईघरे, हटीया, काफलपानी, छाप, गोलाभञ्ज्याङ लगायतका क्षेत्रहरुको हावापानी र माटो चिया खेतीको लागि अनुकुल भएको प्राविधिकहरुले यस अघि नै बताएका थिए । यस वडा भित्रका किसानहरुलाई व्यवसायिक चिया खेतितर्फ उत्प्रेरीत गर्दै आर्थिक विकास र समृद्धिको साथै वडालाई चियाको पकेट तथा पर्यटकिय क्षेत्रको रुपमा परिचित गराउन चियाको विरुवा वितरण गरिएको नीलकण्ठ नगरकार्यपालिकाका पूर्वाधार विकास समितिका संयोजक राजन बराईलिले जानकारी दिनुभयो ।

यस वडा भीत्र रहेका बाँझो जमिनको सदुपयोग गर्ने गरी करिब ३०० जना वडाबासी किसानहरुको लागी कुल ५० हजारको संख्यामा चियाको विरुवा वितरण गरिएको हो । इलामको एक नर्सरीबाट ल्याईएको गुम्ती ७८ जातको यो विरुवाले रोपेको ४ बर्ष पछि उत्पादन दिनेछ । चियाको विरुवा खरीदको लागि नीलकण्ठ नगरपालिकाले रु ८ लाख रुपैंया खर्च गरेको छ । यस वडा भित्र रहेका अधिकांश मानिसहरु कृषि पेशामा आधारित रहेको र चियाको स्वदेशी तथा विदेशी बजार मूल्य र माग पनि राम्रो रहेको हुँदा, कृषकहरु यस खेतीमाबाट आकर्षित हुने विश्वास गरिएको छ । नीलकण्ठ नगरपालिकाले अघिल्लो बर्ष पनि वडा कार्यलयसँगको समन्वयमा यसै गरि चियाको विरुवा वितरण गरेको थियो ।

Facebook Comments