धादिङमा तेस्रो पटक निषेधाज्ञा जारी गरेको छ । कोरोनाको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न धादिङ जिल्लामा जारी गरिएको निषेधाज्ञा भदौ १६ गतेसम्मको लागि लम्ब्याएको हो ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको नेतृत्वमा मंगलबार बसेको सरोकारवालाको बैठकले भदौ १६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । धादिङमा साउन २८ गते राति १२ बजेदेखि लागु गरिएको निषेधाज्ञा भदौं ३ गतेसम्म र दोस्रो पटक भदौ ३ गते राति १२ बजेदेखि भदौ ९ गते अर्थात मंगलबार राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । मंगलबार सम्मलाई जारी गरिएको निषेधाज्ञा भदौ १६ गते राति १२ बजेसम्मको लागि लम्बाएको हो ।
जिल्लामा कोरोनाको संक्रमित दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा लम्बाउन बाध्य भएको धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णयअनुसार भदौ १६ गतेसम्मलाई धादिङमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द नै रहने पौडेलले जानकारी दिनुभयो ।
निषेधाज्ञा लम्बाएसँगै जिल्लामा कोरोना भाइरस नियन्त्रणको लागि स्थानीय तहसँग समन्वय गरेर थप योजना बनाएर काम गर्ने पौडेलले बताउनुभयो । जिल्लाभित्रका सबै होटल, बैङ्क तथा वित्तिय संस्थाहरु र शैक्षिक संस्थाहरु बन्द रहनेछन् भने जिल्लाभित्रका सबै एम्बुलेन्सहरुलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने, अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिने बताउनुभएको छ ।
यस्तै निषेधाज्ञाअवधिभर औषधी उपचार, खाद्यवस्तु खरीद, आफ्नै खेतबारीमा कृषीजन्य कार्य गर्नेजस्ता आवश्यक काम बाहेक कुनैपनी व्यक्तीहरु घरबाट बाहिर ननिस्कन आग्रह गर्दै जिल्लाबासीलाई सुरक्षित र सचेत भएर बस्न प्रमुख जिल्ला अधिकारी पौडेलले सुझाव दिनुभएको छ ।