
निलकण्ठ नगपालिका वडा नम्बर ९ काफलपानीकी राममाया गुरुङ आँफु सरहका दिदिवहिनिसँगैको समुहमा बस्नुभयो । सदरमुकाम धादिङवेशींबाट गाउँ पुगेको मुक्तीनाथ फाईनान्सले निर्माण गरेको ५ जनाको समुहमा ऋण पाईने आशाले उहाँ बस्नुभएको होे ।
समुहमा आवद्ध भईसकेपछि ऋण पनि पाउनुभयो । उहाँले एक वर्षको लागि धितो राखेर १ लाख ऋण लिनुभयो । उहाँलाई ऋण दिएर आफ्नो गर्जाे टार्दिएपछि मुक्तीनाथ संस्था सर्वाेपरि लाग्यो । समय वित्दै गयो व्याँज (किस्ता) तिर्ने, साँवा घटाउने दिन आउन थाल्यो ।
गाउँमा आम्दानीको स्रोत नभएपछि महिनाको व्याज मात्रै १२ हजार कहाँबाट ल्याउने ? ऋणको साँवा व्याज तिर्न सक्नुभएन । समयमा व्याज साँवा घटाउन नसक्दा हर्जना थपिँदै थपिँदै गयो । श्रीमानको स्थायी जागिर थिएन, आफ्नो खेतबारीको उत्पादनले बाह्रै महिना खान पुग्दैनथ्यो । बुझ्दै नबुझी समुहमा बसेको भन्दै श्रीमान्को गाली, यता दिनहुँ ऋण लिएको संस्थाबाट धितो जफत गर्दिन्छु भनेर दिने धम्की ।
राममायालाई समुहमा बस्न महिनाको अन्तीम दिन आउन लागेपछि के गरौ र कसो गरौं हुन्थ्यो? समय यस्तै चलिरहेको थियो फेरी एक दिन विना धितो ऋण दिने भन्दै संस्थाको कर्मचारी गाउँमा आयो । विना धितो ऋण दिने भएपछि पुन ः गाउँकै ५ जना सम्मीलीत समुहमा बस्नुभयो ।
पहिले ऋण लिएको संस्थाको ऋण तिर्नकै लागि विना धितो ऋण दिने संस्थामा पनि बस्नुभयो । र ऋण लिएर पहिलेको संस्था ऋण चुक्ता गर्नुभयो । एक संस्थाबाट लिएको ऋण अर्काे संस्थाबाट लिँदै तिर्दै । यो ऋण लिने दिने क्रम अहिले पनि जारी छ । १ लाखबाट सुरु भएको ऋण अहिले ५ लाखको हाराहारीमा पुगीसकेको छ ।
संस्थाको कर्मचारी आउँछन्, तपाईको यति भयो भन्दिन्छन् त्यही अनुसार ति¥योे बस्यो । आफुले कति प्रतिशतमा ऋण लिएको भन्ने कुरा न उहाँलाई थाहा छ नत समुहका अन्य साथीहरुलाई । ‘ऋण टिपाएको भन्दा कम पैसा दिन्छ, के–के शुल्क भनेर काट्छ, बुझ्न खोज्दा सर÷मिस अलि झिंजो मान्नुहुन्छ, तपाई बस्नु मन छैन भने चुक्ता गर्नुस् भन्नुहुन्छ त्यै भएर चुपचाप बस्छौं, रामामायाले भन्नुभयो । राममाया मात्रै होईन सेतीमाया गुरुङको समस्या पनि उस्तै छ ।
आफ्नै समुहका एक जना सदस्यले ऋण नतिर्दिएपछि समुहका सेतीमाया सँगै अन्य ४ जना समस्यामा छन् । आफुलेको लिएको ऋणको साँवा व्याज त छँदैछ, ऋण नतिरि समुह छाडेर भागेर जानेले लिएको ऋणको साँवा व्याँज समेत तिर्नु पर्दा समस्यामा परेका हुन् । यो ऋण कहिले चुक्ता होला र आनन्दको सास फेर्न पाउँला ? सेतीमाया भन्नुहुन्छ, संस्थाको ऋण र हर्जनाले ग्रामिण भेगका महिलाहरुको शिर ठाडो छैन । निलकण्ठ ९ को काफलपानीका महिलाहरुलाई फसाउनेमा डिप्रोक्स, छिमेकी, मिरमिरे, निर्धन, हेफर लगायतका माईक्रोफाईनान्स छन् ।
यस्ता संस्थाको दलदलमा फस्ने राममाया गुरुङ र सेतीमाया गुरुङ त प्रतिनिधि महिला मात्र हुन् । ग्रामिण भेगका हरेक महिलाहरु यस्ता संस्थाको शिकार भएका छन् । सामान्य वर्गका नागरिक देखि वुद्धिजिवि, राजनितिक दलका व्यक्तीहरु समेत माईक्रो फाईनानन्सको दल दलमा फस्ने गरेका छन् ।
संस्थाबाट लिएको ऋणले ग्रामिण महिलाहरुमा मानसिक समस्या उत्पन्न गराएको छ । आर्थिक अवस्था नहेरी ऋण लगानी गर्ने समुहको एक जना व्यक्तिले बेइमान गरे समुहका सबै व्यक्तिबाट उक्त रकम असुली गर्ने संस्थाहरुको नियम छ । जिल्लाका विभिन्न ठाउँहरुमा कार्यक्षेत्र बनाइ क्रियाशील लघुवित्त (माइक्रो फाइनान्स) संस्थाहरुको चर्को ब्याजदरले ग्रामीण क्षेत्रका महिलाहरु ऋणको दलदलमा फसेका छन् । हरेक गाउँ वस्तीमा लघु वित्त पुगेको छ ।
पहिले पहिले धितो राखेर ऋण दिने संस्था पुग्थे भने अहिले विना धितो ऋण दिने आश्वासन देखाएर महिलाहरुलाई झुक्याउने काम गरिरहेका छन् । आयआर्जन बढाउने र गरिबी निवारण गर्ने भन्दै आकर्षक नारा दिएर गाउँवस्ती पुग्ने लघु वित्तको चर्को व्याजदरले कतिपय नागरिककै उठिवास लाग्ने अवस्था समेत सिर्जना भएको छ ।
लघुवित्त संस्थाहरुले चर्को व्याज दिने मात्रै होइन अनेक प्रलोभनमा ऋणको मात्रा बढाउने आवश्वास दिएर घर न घाटको स्थितिमा पु¥याएको सेवाग्राहीको गुनासो छ । नेपाल राष्ट्र बैकले १८ प्रतिशत भन्दा बढि व्याज असुली गर्न नपाइने भनेता पनि सेवा शुल्क, प्रवेश शुल्क, खाता बन्द गर्दा नियमित बचतबाट काटिने शुल्क, समृद्धि कोष, विमा शुल्क जस्ता विभिन्न शुल्कहरु उठाएर त्यसमाथि सेवाग्राहीबाट चर्को व्याज असुल गरेर गरीव जनताको ढाड सेक्ने काम भैरहेको सेवाग्राहीहरुको गुनासो छ ।