
तस्विर : धादिङपोष्ट
समन्वय कप फुटबल प्रतियोगीताको उपाधी निलकण्ठ नगरपालिकाको समहूले जितेको छ ।ज्वालामुखी गाउँपालिकालाई ४–२ गोल अन्तरले हराउँदै निलकण्ठले उपाधी जित्न सफल भएको हो ।
निलकण्ठ नगरपालिकालाई जित दिलाउन खेलाडी विपिन कँडेलले ह्याट्रिक गर्नुभएको थियो भने एन्जल तामाङले एक गोल गर्नुभएको थियो । यस्तै ज्लावामुखी गाउापालिकाका विरेन थापा मगर र सुमन थापा मगरले समान एक एक गोल गर्नुभएको थियो । जितसँगै निलकण्ठ नगरपालिकाको समूहले नगद एक लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै उपविजेता ज्वालामुखीले नगद ५० हजार तथा सिद्धलेक र त्रिपुरासुन्दरीले नगद १५–१५ हजार, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।यस्तै जिल्ला फुटबल सँघ धादिङका अध्यक्ष दिपक सिंम्खडाले विजयी निलकण्ठलाई १५ हजार र उपविजेता ज्वालामुखीलाई नगद १० हजार व्यक्तीगत रुपमा प्रदान गर्नुुभएको छ । निलकण्ठ १ पात्लेमा फागुन २१ गतेदेखी सञ्चालन भएको प्रतियोगीता मंगलबार सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभुमी युवा समाज पात्लेको व्यवस्थापनमा भएको फुटबल प्रतियोगीतामा गंगाजमुना बाहेक सबै पालिकाहरुको सहभागीता रहेको थियो । जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालको अध्यक्षतामा समापन भएको कार्यक्रममा अखिल नेपाल फुटवल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्य रहेको थियो ।