सदरमुकाम धादिङबेशीमा अवस्थित निलकण्ठ माध्यमिक विद्यालयमा दलित विद्यार्थीहरुले प्रधानाध्यापकको कार्य कक्षमा तालाबन्दी गरेका छन् । दलित विद्यार्थी भर्ना शुल्कसम्बन्धी भएको विवादमा कुरा नमिलेपछि विद्यार्थीहरुले ताला लगाएका हुन् ।

विद्यार्थीहरुले दलित विद्यार्थी तथा जिल्लाका दलित अगुवाहरुले नेपालको संविधान २०७२ जारी भएको मितिदेखि विद्यालय कति दलित विद्यार्थीबाट भर्ना शुल्क तथा मासिक शुल्क लिएका छन् ती सबै फिर्ता गर्नुपर्ने, दलित विद्यार्थीहरुलाई अनिवार्य छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, स्थानीय तहसँग समन्वय गरि दलित छात्रवृत्ति कोष खडा गर्नुपर्ने, दलित विद्यार्थी भर्ना शुल्क लिनेसम्बन्धी नगरपालिका, प्रशासन, शिक्षा इकाइ, प्रहरी, दलित अगुवा, राजनीतिक दलको समन्वयमा छानबिन समिति गठन गर्नुपर्ने लगायतका माग राखेका छन् । पैसा नभएको आधारमा विद्यार्थीले पढाई छाड्न पर्ने बाध्यता आउन नहुने माग राख्दै विद्यालयमा ताला लगाएका हुन् ।

यस्तै दलित अगुवा गोपाल विश्वकर्माले प्रारम्भीक रुपमा विद्यार्थीले उठाएका ३ ओटा माग पुरा भएमा विद्यालयमा लगाएको ताला खोल्ने बताउनुभयो । ३ ओटा माग अन्र्तरगत दलित तथा सिमान्तकृत विद्यालर्थीले निशुल्क पढ्न पाउनुपर्ने, नगरपालिकाकाले छात्रावृति कोष स्थापना गर्नुपर्ने, होस्टलको व्यवस्था गर्नुपर्ने लगायतका माग रहेका छन् ।

यो भन्दा अगाडी गत फागुन २० गते कक्षा ११ र १२ को भर्ना गर्ने क्रममा दलित विद्यार्थीेहरुसँग शुल्क लिएको र शुल्क तिर्न नसक्ने विद्यार्थीहरुको भर्ना नलिने भने पछि विद्यार्थीहरुले त्यसको विरोध गर्दै धर्ना दिएका थिए । देशको संविधानले नै दलित तथा गरिब विद्यार्थीहरुलाई उच्च माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क गरेको अवस्थामा निलकण्ठ, माध्यामिक विद्यालयले नियमलाई नै उलङ्घन गरेको र दलित विद्यार्थीहरुमाथि अभद्र व्यवहार गरेको भन्दै प्रधानाध्यापकको कार्य कक्षभित्र १ घण्टा धर्ना दिदै विभिन्न ७ बुदे माग समेत राखेका थिए । पछि विद्यालय प्रशासनले चैत ३ गते बैठक बसेर दलित विद्यार्थी र विद्यालय प्रशासनबिचको समस्याको टुङ्गो लगाउने भनी सहमति भएको थियो ।

चैत ३ गतेसम्म पनि कुनै निर्णय नगरेपछि दलित विद्यार्थीहरुले विद्यालयमा ताला लगाएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीेहरुको मागप्रति विद्यालय परिवार सकारात्मक रहेको र चैत ३ गते सवैदलिय बैठक बसेर निष्कर्ष निकाल्ने भनी रहदा दलित विद्यार्थीहरुले बैठक बस्न नपाउदै विहान ९ बजे आएर ताला लगाएको विद्यालयका प्रधानाध्यापक धु्रव अधिकारीले बताउनुभयो ।

प्रधानाध्यापक अधिकारीले दलित विद्यार्थीहरुले गलत ठाउमा ताला लगाएको बताउनुभयो । कानुनमै नभएका माग पुरा गर्न विद्यालय परिवार असमर्थ रहेको भन्दै प्रधानाध्यापक अधिकारीले शिक्षासम्बन्धी ऐन नियम, बजेट योजना बनाउने, छात्रवृतिको व्यवस्था गर्ने काम सबै स्थानीय तहबाट हुने भएकोले दलित विद्यार्थीको समस्या समाधान गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

Facebook Comments