
नेपालमा बुधबार एकैदिन ६ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षणबाट ५ सय ८० जना र ४ सय ५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६ सय ३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।
यो संख्या पछिल्ला केही महिना देखिको उच्च हो । थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ सय ५४ जना हुन् । जसमा काठमाडौंका १ सय७३, ललितपुरका ६१ तथा भक्तपुरका ३२ जना छन् ।
हाल नेपालमा ४ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् । १ सय २९ जना आज कोरोनामुक्त भएका छन् । यो संख्या कुल संक्रमितको ९७ दशमलव ५ प्रतिशत हो ।
भारतमा कोरोना भाइरसको सङ्क्रमणमा नयाँ रेकर्ड
भारतमा कोरोना भाइरसको सङ्क्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ८५ हजार २४८ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । भारतमा २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
यसअघि गत आइतबार भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ६९ हजार ८९९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ ।
भारतमा १ करोड २३ लाख ३२ हजार ६८८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख७२ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १हजार २६ जनाको मृत्यु भएको छ ।