पहिलो चरणको कोरोना कहरमा खटिएका स्वास्थ्यकर्मीहरुले अझै जोखिम भत्ता पाएका छैनन् । काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५ देखि शत प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर धादिङका केहि स्वास्थ्य कर्मीहरुले अझै एक पैसा पाएका छैनन् ।

केहि स्वास्थ्यकर्मीले कोरोना विपत कोष भनेर उल्टै रकम तिरे । कोरोना कहरको समयमा खटिने स्वास्थ्यकर्मीले जोखिम भत्ता त पाएनन् नै तर उल्टै तलवको ३ दिनको रकम कोरोना विपद कोषमा खर्चिए । सरकार जोखिम भत्ता दिने निर्णय गर्छ । ‘व्यवहारमा स्वास्थ्यकर्मीसँग उल्टै रकम असुल्छ ।’ कोरोना कहरमा स्वाव संकलनमा खटिएको बेनीघाट रोराङ गाउँपालिका २ धादिङमा रहेको महादेवस्थान स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट ब्रजेश तामाङले बताउनुभयो ।

सरकारले हामी जस्ता स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिएर प्रोत्साहन गर्नु पर्ने हो । तर जोखिम भत्ता दिनको सट्टामा मेरो तवल २८ हजार २ सय रकमको ३ दिनको तलब कोरोना विपद कोषमा भन्दै काटेको उहाले बताउनुभयो । धादिङको ज्वालामूखी गाउँपालिका ६ सालबास स्वास्थ्य चौकीका अनमी शर्मिला छत्कुलीलाई कोरोना पुष्टी भयो । सुनखानी माध्यामिक विद्यालयको क्वारेन्टिनमा स्वास्थ्य सेवा दिदै गर्दा कोरोना लागेको उहाले बताउनुभयो । ‘आफ्नो ज्यानको प्रवाह नगरी दिनरात विरामीको उपचारमा खटिएँ ।

सरकारले तलवको २५ देखि शत प्रतिशतसम्म जोखिम भत्ता दिने आशा देखायो । जोखिम भत्ताको नाममा अहिलेसम्म म लगायत त्यति खेर खटिएका ४२ जना कसैले पनि एक पैसा नपाएको उहाँले बताउनुभयो । कोरोना कहरमा गंगाजमुना गाउँपालिकामा ५० जना स्वास्थ्यकर्मीहरु खटिएका थिए । क्वारेन्टिनमा खटिएकी फुलखर्क ग्रामीण अस्पतालकी ल्याव टेक्निसियन सञ्चिता घलेको २८ हजार तलब थियो । तर एकपटक तलवको आधी रकम १४ हजार मात्र पाएको उहाँले बताउनुभयो ।

पालिकासँग अनुरोध गर्दा पनि बजेट अभावको कारण देखाएर टारेको घलेले गुनासो गर्नुभयो । नीलकण्ठ नगरपालिकाका ७२ जना स्वास्थ्यकर्मी, धुनीवेशी नगरपालिकाका ४३ जना र थाक्रे गाउँपालिकाका ५७ जना स्वास्थ्यकर्मीहरुले दुइ महिनाको जोखिम भत्ता पाएको स्वास्थ्य संयोजकहरुले जानकारी दिए ।

सिद्धलेक गाउँपालिकाका ३२ जना स्वास्थ्यकर्मीले चैत्र महिनादेखि जेठ महिनासम्म जोखिम भत्ता लिएका छन् । त्यस्तैगरी, रुवीभ्याली गाउँपालिकाका ३३ जना स्वास्थ्यकर्मीहरुले चैत्रदेखि असारसम्म आफ्नो तलब बराबरको जोखिम भत्ता र गजुरी गाउँपालिकाका ४३ जना स्वास्थ्यकर्मीहरुले जोखिमको आधारमा २५ देखि शत प्रतिशतसम्म चैत्रदेखि असारसम्म पाएका हुन् ।

खनियाँवास गाउँपालिकाका १४ जना स्वास्थ्य कर्मी लगायत पालिकामा काम गर्ने कर्मचारीहरुले पनि जोखिम भत्ता लिएका छन् । कोरोना कहरमा जोखिम मोलेर काम गरेको भन्दै कानुनी सहजकर्ता र पञ्जीकरणका कर्मचारी बाहेक सबैले चैत्र महिनादेखि असारसम्मको एक महिना बरावरको जोखिम भत्ता लिएको स्वास्थ्य संयोजक आइत तामाङले बताउनुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका ५५ जना स्वास्थ्यकर्मी सहित ७ जना पालिकाका कर्मचारीले चैत्रदेखि असारसम्म तलवको ५० प्रतिशत जोखिम भत्ता लिएका छन् । ५ जना स्वास्थ्यकर्मीले यस आर्थिक वर्षको साउन र भदौमा तलवको ५० प्रतिशत जोखिम भत्ता लिएको स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताउनुभयो ।

त्यस्तैगरी, स्वास्थ्य कार्यालय धादिङका १६ जना स्वास्थ्यकर्मी र धादिङ अस्पतालका ८० जना स्वास्थ्यकर्मीलाई काम र जोखिमको आधारमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म चैत्र महिनादेखि असारसम्म जोखिम भत्ता वितरण गरिएको सुचना अधिकारीहरुले जानकारी दिनुभयो ।

Facebook Comments