आफन्तको अनुमति विना अप्रेशन, विरामीको मृत्यु


आफन्तको अनुमती विना विरामीको अप्रेशन गर्दा धादिङका एक जना विरामीको मृत्यु भएको छ । काठमाण्डौं स्वयम्भु स्थित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिडेटद्वारा संञ्चालित मनमोहन मेमोरियल अस्पतालमा उपचारत निलकण्ठ नगरपालिका–९, काफलपानीका ५५ वर्षिय धनबहादुर गुरुङको मृत्यु भएको हो ।

भाद्र १ गते अंरिगालले टोकेर धादिङ अस्पतालमा सामान्य उपचार पछि पाटन अस्पताल काठमाण्डौं रिफर भएका गुरुङको पछि थप उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो । विरामीको सघन कक्षमा राखेर उपचार गर्नुपर्छ, पिसाब रोकिएका कारण अप्रेशन पनि गर्नुपर्ने हुन्छ भन्दै अस्पतालले पैसाको बन्दोबस्त गर्नु भनेर जानकारी गराएको विरामीका भतिज पर्ने सन्तोष गुरुङले बताउनुभयो ।

पैसाको व्यवस्था हुन्छ तर छोरा र छोरी ईण्डियाबाट आउँदैछन् उनिहरु नआईन्जेल सम्म केही पनि नगर्नु भन्दा भन्दै पनि डाक्टरले अप्र्रेशन गरेर अहिले विरामीको मृत्यु समेत भएको सन्तोष गुरुङले बताउनुभयो । यति मात्र होईन अस्पताल प्रशासनले विरामी र आफन्त विच हुने सम्झौता पत्रमा पनि विरामीको आफन्तको किर्ते सही गरेको छ ।

विरामी तलमाथी भएको खण्डमा अस्पताल प्रशासन जवाफदेही हुने छैन भन्ने सम्झौता पत्रमा फर्जी सहि गरेर आफुहरुलाई देखाएको आफन्तले बताएका छन् ।

विहिबार राती नै विरामीका आफन्तहरुले अस्पताल परिसरमा आन्दोलन गरेका थिए । आन्दोलन पछि अस्पताल प्रशासनले प्रहरी लगाएर विरामीका आफन्तलाई लखेटेको आरोप छ । अस्पताल प्रशासनले चित्तबुझ्दो जवाफ र मृतकलाई उचित क्षतीपूर्ती नदिएसम्म शव नबुझ्ने मृतकका आफन्तले बताएका छन् । अहिले ९ बजेपछि अस्पताल प्रशासनले वार्ताको लागि बोलाएको मृतकका आफन्तले बताएका छन् ।

यता अस्पतालका सह–प्रशासक बुद्धिमान तामाङले घटनाबारे आफूले सम्बन्धित विभागका डाक्टरलाई बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने बताउनुभयो ।

धादिङवेशींमा कोठा फुटाएर दिउँसै २ लाख चोरी


तस्विर : धादिङ पोष्ट

सदरमुकाम धादिङबेसीस्थित शान्तबजारमा बस्ने स्वास्थ्यकर्मी प्रतिमा तिमल्सिनाको कोठामा चोरी भएको छ । बुधबार बन्द गरेर गएको कोठामा ताल्चा नै फोरेर दराजभित्र राखेको नगद २ लाख चोरी भएको तिमल्सिनाले जानकारी दिनुभयो ।

साँझ कोठामा आएर हेर्दा मात्र चोरी भएको थाहा पाएको र प्रहरीलाई खबर गरेको तिमिल्सीनाले बताउनुभयो । तिमिल्सीनाले धादिङवेशीं शान्तबजार स्थित धादिङ हेल्थ केयर प्रा.लि नामक मेडिकल संञ्चालन गर्दै आउनुभएको छ भने सिद्धलेक गाउँपालिकाको स्वास्थ्य शाखामा पनि कार्यरत हुनुहुन्छ ।

प्रतिमा तिमल्सिनाको कोठा नजिकै रहेको कोठाको ढोका समेत चोरले फुटाएको छ । आफु दिउँसो अफिस गएको समयमा कोठाको ढोका फुटाईराखेको अवस्थामा फेला परेको सुनिल ईटनीले बताउनुभयो ।

धादिङवेशींमा अरुपनि यस्ता घटनाहरु आफुले सुनेको बताउदै ईटनीले चोरको विगविगि बढेको तर्फ संकेत गर्दै स्थानिय प्रशासनको ध्यानकर्षण गराउनुभयो । घटनाबारे छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

भदौ ७ गते सार्वजनिक विदा

भदौ ७ गते वागमती प्रदेशले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

वागमती प्रदेशमा प्रमुख पर्वको रुपमा मनाईने गाईजात्रा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आन्तरीक मामिला तथा कानून मन्त्रालय वागमती प्रदेशले विहिबार एक सूचना जारी गर्दै वागमती प्रदेशभर विदा दिने निर्ण गरेको हो ।

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य (बोहोरा) नियुक्त

भदौ ३, धादिङ ।
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य (बोहोरा) ले बुधबार साँझ सपथग्रहण गरेकी छिन् । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले आन्तरिक मामिला तथा भौतिक पूर्वाधार मन्त्रीमा केशव पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाइ नियुक्त गरेकी हुन् । शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । बुधबार नै निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजिनामा दिएर अष्टलक्ष्मी शाक्यालाई दलको नेता बनाएको थियो ।

नेकपा (एमाले) विभाजन भएको र माधव नेपालले नेकपा एमाले (समाजवादी) नामको नयाँ दल दर्ताको लागि निर्वानच आयोगमा निवेदन दर्ता गरेका छन् । लामो समयदेखि नेता नेपालको पक्षमा रहेकी शाक्यले पछिल्लो समय नेपालको साथ छोडेकी थिईन् । उनी आफू एकताको पक्षधर भन्दै अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा, राजनीतिक दल सम्बन्धी अध्यादेश जारी

२ साउन, २०७८

शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार राष्ट्रपति समक्ष सीफारीस गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै जारी भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा कुनै पनि राजनैतिक पार्टी  विभाजनको लागि पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा  २० प्रतिशत मत  पु¥याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । यो अध्यादेश जारी भएसँगै अब नेकपा एमालेको मधव कुमार नेपाल, झलनाथ खनाल पक्ष र जसपाको महन्त ठाकुर र राजेन्द्र महतो समूहलाइ दल विभाजन गरि नयाँ दल दर्ता गर्न सहज भएको छ । यस अघि संविद्यानको राजनीतिक दल सम्बन्धी ऐनमा कुनै पनि राजनैतिक दल विभाजनको लागि पार्टी केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत मत  पु¥याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो । हाल नेकपा एमाले भीत्रको असन्तुष्ट माधव नेपाल, झलनाथ खनाल पक्ष र जसपाको राजेन्द्र महतो र महन्त ठाकुर पक्षको माग अनुसार यो अध्यादेश ल्याइएको हो । यो अध्यादेश जारी भएसँगै औपचारीक रुपमा नयाँ दल दर्ता गर्न माधव नेपाल, झलनाथ समूह र राजेन्द्र महतो, महन्त ठाकुर समूह आन्तरीक तयारीमा लागेको छ ।

फेरी सर्यो नेपाली कांग्रेसको महाधिवेशन

३१ साउन, धादिङ ।
नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको मिति पुन परिवर्तन भएको छ । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन आगामी संसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । काँग्रेसले वडा तहको अधिवेशन १८ भदौबाट सुरु गरि मंसिर १३ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको छ । पूर्व निर्धारीत वडा, गाउँ / नगर, प्रदेश / प्रतिनिधिसभा  र  जिल्ला तहको अधिवेशनको मिति कटीसकेको छ । भदौमा तय भएको महाधिवेशन हुन नसक्ने भएपछि नयाँ मिति तोकेको हो । काँग्रेसको वडा तह देखि महाधिवेशनसम्म करिब ३ महिनामा महाधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको छ ।

नेपाली कांग्रेसको आफ्नै पार्टीभित्रको आन्तरिक द्धन्दका साथै क्रियाशील सदस्यताको विवाद समाधान गर्न नसक्दा पुन सबै तहको अधिवेशन सरेको हो । शनिबार सम्पन्न केन्द्रिय समितिको बैठकले कृष्ण प्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल र रमेश लेखकलाइ भाद्र ३ गतेसम्म क्रियाशिल सदस्यता सम्बन्धि समस्या समाधान गर्ने जिम्मेवारी दिएको छ ।
अधिवेशन तयारीको समयमा सरकार परिवर्तन, पार्टीको भावि नेतृत्वका विषयमा समहमति हुन नसक्दा पनि अधिवेशन प्रभावित भएको हो । अझै पनि नेपाली कांग्रेसमा संस्थापन पक्ष महाधिवेशन आफ्नो अनुकुलमा गर्ने सोचमा छ, भने संस्थापन ईतरका समूह भने छिटो भन्दा छिटो र तोकिएकै समयमा महाधिवेशन सम्पन्न गरि वर्तमान सभापती शेर बहादुर देउवालाइ रोक्ने दाउमा रहेका छन् । नेपाली कांग्रेसले संवैधानिक व्यवस्था अनुसार भदौको अन्तिम सातासम्म अधिवेशन गर्नुपर्नेछ ।

 

 

 

 

 

कोरोना अपडेट धादिङ : ३७ जना कोरोना संक्रमणमुक्त, १२ जनामा कोरोना पुष्टी

धादिङका १२ जनामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि निलकण्ठ नगरपालिकामा १ जना, गल्छी गाउपालिकामा १ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ३ जना, रुबिभ्यालि गाउपालिकामा १ जना र धादिङ्ग हस्पिटलमा ६ जनामा पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

शनिबार एन्टीेजेन परिक्षण गरीएका ७२ जनामध्ये १२ जनामा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ३ सय ३ पुगेको छ ।

संक्रमितमध्ये जिल्लाभित्र हस्पिटल आइसोलेसनमा १२ र होम आइसोलेसनमा २ सय ९१ रहेका छन् । शनिबार ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

सम्बन्धीत निकायले ध्यान नदिदा गजुरी भस्मेखर्कका स्थानियहरु ४ महिनादेखी अन्धकारमा


धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ भालखोप भस्मेखर्कका स्थानियहरु विगत ४ महिनादेखी अन्धकारमा बस्न बाध्य छन् ।

ट्रान्सफर्मर विग्रिएर विद्युत सेवा अवरुद्ध भएको यतिका समयमा सम्म पनि सरोकारवाला निकायले ध्यान नदिंदा भस्मेखर्कका ४५ घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

सम्बन्धीत निकायलाई पटक पटक ट्रान्सफर्मर विग्रिएको विषयमा जानकारी गराउदा पनि वेवास्ता गरेको स्थानिय समाजसेवी जितबहादुर तामाङले जानकारी दिनुभयो । विद्युत नहुँदा यतिवेला कुटानी पिसानी देखी लिएर विद्यार्थीको पढाई समेत प्रभावित बनेको तामाङले बताउनुभयो ।

विद्यालयले वैकल्पिक विधि अपनाउँदै अनलाईन कक्षा संञ्चालन भईरहेको भएपनि आफ्ना छोरा छोरीले पढ्न नपाएको गुनासो गर्नुभयो । पानी पर्नु अगावै ट्रान्सफर्मर बनाउनुपर्छ भनेर पटक पटक ताकेता गर्दा पनि सुनुवाई भएन अहिले वर्षायामको वहाना गरेर टार्न खोजेको उहाँको आरोप छ । गाउँपािलका र वडाले पनि यस विषयमा चासो नदिएको तामाङले बताउनुभयो ।

यता बेल्खु खोला ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्षले भने वर्षायामका कारण ट्रान्सफर्मर गाउँमा लैजान नसकेको बताएका छन् । नियतबस नभई मौसमकै कारण ट्रान्सफर्मर लैजान नसकिएको अध्यक्ष हरिशरण तामाङले दावी गर्नुभयो । अन्य ३ ओटा क्षेत्रमा पनि ट्रान्सफर्मर लैजानपर्ने भएकाले मौसम राम्रो हुने वित्तिकै ट्रान्सफर्मर लैजाने बताउनुभयो ।

ग्रामिण भेगमा विद्यतु सेवा पु¥याउने उद्देश्यले नेपाल सरकारको सञ्चालन गरेको सामुदायिक विद्युतिकरण कार्यक्रम अन्र्तरगत जयदुर्गेदेवी जेभीले साढे ८ करोडको लागतमा वि.स.२०६९ सालमा ठेक्का सम्झैता गरि गाउँमा बत्ती बल्न सुरु गरेको थियो ।

बेल्खुखोला ग्रामिण विद्युत सहकारी संस्थाले संञ्चालन गरिरहेको यो परियोजना अन्र्तरगत साविकको किराञ्चोक गाविसको ९ ओटै वडा र पिडा गाविसको ६ नम्बर वडाका गरि ११ सय घरधुरीले विद्युत उपभोग गर्दै आएका छन् ।

विभिन्न कारणले गर्दा निर्माण सम्पन्न भएको यतिका वर्ष सम्म पनि आयोजना समुदायलाई हस्तान्तरण नभएको वेल्खु खोला ग्रामिण विद्युत सहकारी संस्थाले जनाएको छ ।

कोरोना अपडेट धादिङ : ५५ जना कोरोना संक्रमणमुक्त, १४ जनामा कोरोना पुष्टी

धादिङमा शुक्रबार थप १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा २, गंगाजमुनामा २, थाक्रेमा १ र धादिङ्ग हस्पिटलमा ४ गरेर १४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

१ सय १७ जनामा गरिएको एनटीजेन परिक्षण मध्ये १४ पोजिटिभ आएको हो । यो सँगै जिल्लामा कोरोना भाईरस सक्रिय संक्रमितको संख्या ३२८ पुगेको छ । भने शुक्रबार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला हस्पिटल आइसोलेसनमा १२ र होम आइसोलेसनमा ३१६ रहेका छन् ।

सिद्धलेकमा शुक्रबार १२ स्वाब संकलन भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

सरोकारवालाबाट प्राप्त सुझावलाई पनि ध्यान दिइएको पनि उहाँले बताउनुभयो । अधिकारीले आगामी आर्थिक वर्षमा कोरोना महामारीका बीच पनि आर्थिक क्षेत्रको पुर्नत्थानमा सुधार आउने अपेक्षा गर्नुभएको छ । अधिकारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटेकाले सोधानान्तरमा असर पुग्न सक्ने उहाँले बताउनुभयो ।

सोधनान्तर स्थितिमा चाप पर्न सक्ने भएपनि वैदेशिक मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा देखिन सक्ने उहाँको भनाइ छ । नेपाल राष्ट्र बैंकले केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको आर्थिक वर्ष २०७७ / ७८ मा ४ दशमलब ०१ प्रतिशतको आर्थिक वृद्धि चुनौतिपूर्ण रहेको बताएको छ ।

आर्थिक वर्षको चौथो त्रयमासमा भएका कोरोनाको दोस्रो लहरका कारण यो हासिल गर्न चुनौतिपूर्ण देखिएको राष्ट्र बैंकको विश्लेषण छ । मौद्रिक नीतिमा समष्टिगत आर्थिक स्थितिको विश्लेषण गर्दै भनिएको छ, ‘आर्थिक वर्ष २०७६/७७ मा २ दशमलब ०९ प्रतिशतले संकुचनमा गएको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७७/ ७८ मा ४ दशमलब ०१ प्रतिशतले बिस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । तर चौथो त्रयमासमा भएको सङ्क्रमणको दोस्रो लहरले यो वृद्धिदर कायम हुन चुनौतीपूर्ण देखिएको छ ।

त्यसै गरी, आर्थिक वर्ष २०७७ /७८ मा कुल गार्हस्थ्य उत्पादन सँगको कुल गार्हस्थ्य बचतको अनुपात ६ दशमलब ६ प्रतिशत र कुल राष्ट्रिय बचतको अनुपात ३१ दशमलब ४ प्रतिशत रहेको अनुमान गरिएको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ६ दशमलब ३ प्रतिशत र ३२ दशमलब ६ प्रतिशत थिए ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले १ हजार १८० अर्बभन्दा बढी खर्च गरेको जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट २०७८ साउन १ मा प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको कुल खर्च१,१८० अर्ब ९५ करोड भएको राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो राखेर ऋण प्रवाहमा कडाइ गरेको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो ऋणको सीमा एक संस्था वा व्यक्तिको बढीमा १२ करोड रुपैयाँ हुनेछ । एक बैंकबाट बढीमा चार करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइनेछैन । विभिन्न बैंक तथा संस्थाहरुबाट गरेर जम्मा १२ करोड मात्रै ऋण पाइने व्यवस्था मौद्रिक नीतिमा छ ।

मौद्रिक नीतिको पूर्णपाठ