धादिङ प्रहरीले ५० वर्षदेखी फरार रहेका प्रतिवादीलाई पक्राउ ग¥यो

धादिङमा ५० बर्ष देखी फरार प्रतिबादी पक्राउ परेको छ ।

ज्यान मार्ने उद्योगमा १० बर्ष कैद हुने फैसला भई फरार रहेका प्रतिबादी साबिकको चैनपुर गा.वि.स वडा नं ३ बस्ने हुतराज छत्कुलीलाई धादिङ प्रहरीले ५० वर्षपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पक्राउको विषयमा जानकारी गराएको हो ।

हुतराज छत्कुलीले स्थानीइ टंकनाथ नहर्कीलाई मिति २०२६ साल माघ १० गते खुकुरी प्रहार गरी घाईते बनाएको थियो । प्रतिवादी छत्कुलीलाई यही साउन २७ गते जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं १२ बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि धादिङ जिल्ला अदालत पेश गरेको छ ।

त्यसै गरी फैसला कार्यान्वयनकै शिलसिलामा मिति २०७८।०४।०१ गते देखि हालसम्म निम्न मुद्दाका सजाँय तोकिएका निम्न १० जना प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत प्रहरी ईकाइहरुबाट पक्राउ गरी धादिङ जिल्ला अदालत समक्ष फैसला कार्यान्वयनको लागि पेश गरेको ।

पक्राउ परेकाहरु निम्नानुसार छन् :

१.बैदेशिक रोजगार ठगी मुद्दामा १ बर्ष ६ महिना कैद र १,५०,०००।– (एक लाख पचास हजार रुपैया) जरिवाना सजाय तोकिएको जिल्ला धादिङ निलकण्ठ न.पा. ९ मुरलीभज्याङ बस्ने बर्ष ४२ को हरि बहादुर तामाङलाई मिति २०७८।०४।१६ गते पक्राउ गरिएको ।

२. सवारी ज्यान मुद्दामा २ दिन कैद र रु.२,०००।– (दुई हजार रुपैया) जरिवाना सजाँय तोकिएको जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.वडा नं.६ बस्ने टंक नारायण श्रेष्ठको छोरा बर्ष ३१ को अनिल श्रेष्ठ र २ महिना २१ दिन कैद र रु.२,०००।– (दुई हजार रुपैया ) जरिवाना सजाँय भएको ऐ.ऐ.बस्ने दिल बहादुर थापाको छोरा बर्ष २६ को अमित थापालाई मिति २०७८।०४।१७ गते र २१ दिन कैद तोकिएका ऐ.वडा नं.४ बस्ने खड्क बहादुर भुजेलको छोरा बर्ष ३५ को प्रकाश भुजेललाई मिति २०७८।०४।१८ गते पक्राऊ गरिएको ।

३. लागु औषध ब्राउन सुगर मुद्दामा रु.२,०००।– (दुई हजार रुपैया) जरिवाना र खैरो हेरोईन मुद्दामा ५ बर्ष ४ महिना २० दिन कैद र रु.५,०००।– (पाँच हजार रुपैया ) जरिवाना तोकिएका जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.वडा नं. ७ बस्ने भुमिनन्द कोईरालाको छोरा बर्ष ३१ को नारायण कोईरालालाई मिति २०७८।०४।१७ गते पक्राऊ गरिएको ।

४. गाली बेईज्जती मुद्दामा रु. १२५।–(एक सय पच्चिस रुपैया ) जरिवाना तोकिएको जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.वडा नं.७ बस्ने बर्ष ४५ की मनमाया थापालाई मिति २०७८।०४।१७ गते पक्राऊ गरिएको ।

५.
रक्तचन्दन ओसार-पसार मुद्दामा रु. ७०,२१०।– ( सत्तरी हजार दुई सय दश रुपैया ) जरिवाना तोकिएको जिल्ला धादिङ गल्छी गा.पा.वडा नं.७ बस्ने रामलाल श्रेष्ठको छोरा बर्ष ३९ को भाईराजा श्रेष्ठ भन्ने रामराज श्रेष्ठलाई मिति २०७८।०४।१८ गते पक्राऊ गरिएको ।

६.
सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद र रु.५०।– (पचास रुपैया) जरिवाना तोकिएको जिल्ला धादिङ ज्वालामुखी गा.पा.वडा नं. ३ बस्ने न्याउरे मगरको छोरा बर्ष २२ को सुमन मगरलाई मिति २०७८।०४।१९ गते पक्राऊ गरिएको ।

७.
बहु-बिवाह मुद्दामा ११ महिना १८ दिन कैद र रु.५,०००।– (पाँच हजार रुपैया) जरिवाना तोकिएका जिल्ला धादिङ गल्छी गा.पा.वडा नं.८ गोगनपानी बस्ने बर्ष २८ को कृष्ण बहादुर नेपालीलाई मिति २०७८।०४।२० गते पक्राऊ गरिएको ।

 

 

कोरोना अपडेट धादिङ : २८ जना कोरोना संक्रमणमुक्त, २१ जनामा कोरोना पुष्टी

धादिङका २१ जनामा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा गजुरी गाउपालिकामा ६ जना, गंगाजामुना गाउपालिकामा ४ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ६ जना र ज्वालामुखी गाउपालिकामा ५ जना पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

बुधबार एन्टीजेन परिक्षण गरिएका ६५ जनामध्ये १७ जनामा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ४ सय ५ जना पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा ३ सय ९५ रहेका छन् ।

बुधबार २८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै गजुरी गाउपालिकामा ३ जनाको स्वाब संकलन गरिएको छ ।

बेल्खुखोलामा वेपत्ता वालक मृत अवस्थामा भेटिए

धादिङको गजुरी गाउँपालिका -८ मजुवा स्थित बेल्खुखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका वालक बुधबार मृत अवस्थामा भेटिएका छन् ।

बुधबार दिउसो १२ बजे पौडी खेल्न छिरेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मंगलबार साथीहरुसँग पौडी खेल्ने क्रममा गजुरी गाउँपालिका वडा नम्बर ८ कटुञ्जे बस्ने नवराज ढुङ्गानाका छोरा १० वर्षिय विराज ढुङ्गाना वेपत्ता वेपत्ता भएका थिए ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार उर्जा मन्त्रालयले नियुक्त पत्र दिने तयारी गरेको छ।

उक्त निर्णयको जानकारी मन्त्रिपरिषद्‌को कार्यालयबाट मंगलबार साँझ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय पठाएको जनाइएको छ। २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरी विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

यसअघि साउन १९ गते प्रधानमन्त्री शेरबहादु्र देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको थियो।

पछि सोही दिन मन्त्री भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । सोहीअनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा पूर्णकालीन सदस्य पदमा पदस्थापन गरिने भएको छ।

यसअघि केपी ओली नेतृत्वको सरकारले तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई सोही पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । र पछि शाक्यलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो अन्नपुर्णपोष्टको अनलाईन संस्करणमा समाचार छ ।

अदालतको फैसलाको मूल्याङ्कन इतिहासले गर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्याङ्कन इतिहासले गर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताउनुभयो । अदालतलाई धेरै विवादमा ल्याउन जरुरी नरहेको भन्दै उहाँले वाक्य वाक्य शब्द शब्दको मूल्याङ्कन हुने बताउनुभयो ।

प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनस्र्थापना गरिदिएको थियो ।

शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश फेरि लोकतान्त्रिक प्रणाली छाडेर गठबन्धनको सिद्धान्तमा लागेको भन्दै उहाँले यसले विकासको अभियानलाई यसले लैजान नसक्ने दाबी गर्नुभयो ।

कोरोना अपडेट धादिङ : २८ जना कोरोना संक्रमणमुक्त, २५ जनामा कोरोना पुष्टी

धादिङमा मंगलबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार निलकण्ठमा ७, धुनिबेसिमा १, गल्छीमा २,गजुरीमा २, ज्वालामुखीमा ४, त्रिपुरासुन्दरीमा ३ र धादिङ्ग हस्पिटलमा ६ गरेर मंगलबार जिल्लामा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

१०७ जनामा एनटीजेन परिक्षण गर्दा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसँगै धादिङमा सकृय संक्रमितको संख्या ४१२ पुगेको छ । संक्रमितहरु जिल्ला हस्पिटल आइसोलेसनमा ११ र होम आइसोलेसनमा ४०१ रहेका छन् । यस्तै मंगलबार २८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपाल मास्क अभियान: मास्क नलगाउनेलाई मास्क वितरण

यहि साउन २३ गतेदेखी एक साता सम्म नेपाल मास्क अभियान सुरुवात भएको छ। मास्क अभियान अन्र्तरगत धादिङमा पनि सरकारी तथा गैरसरकाी संघ संस्थाहरुले जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । सोही क्रममा मंगलबार पनि सदरमुकाम धादिङबेशीमा मास्क वितरण गरेको छ । पत्रकार महासंघ, रोटरी क्लव र हृदयरोग निवारण संस्थाले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।

स्वास्थ्य सुरक्षाको लागि सरकारले सञ्चालन गरिरहेको मास्क सप्ताह मनाउँदै समाजमा जनचेतना अभिवृद्धि गर्न पुछारबजारमा क्षेत्रमा मास्क नलगाइ हिड्ने यात्रु, सवारी चालक तथा व्यापारीहरुलाई मास्क वितरण गरेको हो ।

मास्क वितरणसँगै मास्कको सही तरिकाले प्रयोग गर्न समेत सचेत गराईएको थियो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रले “महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता” भन्ने नाराका साथ मनाइरहेको मास्क सप्ताह धादिङमा हिजोदेखि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले सचेतनाको कार्यक्रम गर्दै आएको छ ।

बेल्खु खोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका वालकको खोजी हुँदै

तस्विर : किशोर अधिकारीको फेसबुकबाट

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ मजुवा स्थित बेल्खुखोलामा पौडी खेल्ने क्रममा मंगलबार एक जना वालक बेपत्ता भएका छन् ।

मंगलबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा गजुरी गाउँपालिका वडा नम्बर ८ कटुञ्जे बस्ने नवराज ढुङ्गानाका छोरा १० वर्षिय विराज ढुङ्गाना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

वेपत्ता वालकको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी र स्थानिय मिलेर खोजी कार्य भईरहेको छ ।

कोरोना अपडेट धादिङ : २६ जना कोरोना संक्रमणमुक्त ५५ जनामा संक्रमण पुष्टी

धादिङमा सोमबार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ११ जना, धुनिबेसी नगरपालिकामा २ जना, गल्छी गाउपालिकामा २ जना, बेनिघाट रोराङ गाउपालिकामा ४ जना, ज्वालामुखी गाउपालिकामा ८ जना, त्रिपुरासुन्दरी गाउपालिकामा २ जना, गंगाजमुना गाउपालिकामा १ जना, सिद्धलेक गाउपालिकामा ४ जना र धादिङ्ग हस्पिटलमा २१ जनामा पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

सोमबार एन्टीजेन परिक्षण गरीएका १ सय ५७ जनामध्ये ३३ जनामा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ४ सय १५ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ४ सय १ रहेका छन् ।

सोमबार २६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सोमबार गजुरी गाउपालिकामा १५ जनाको स्वाब संकलन गरीएको छ ।

नेपाल मास्क अभियान : प्रहरीको जनचेतनामुलक कार्यक्रम (फोटो फिचर)

नेपाल मास्क अभियानका अवसरमा सोमबार जिल्ला प्रहरी कार्यालय धादिङले जनचेतनामुलक कार्यक्रम संञ्चालन गरेको छ ।

हाल फैलिरहेको कोभिड–१९ महामारी बच्नको लागि नेपाल सरकारद्वारा संचालनमा ल्याएको नेपाल मास्क अभियान अन्तर्गत जनचेतनामुलक कार्यक्रम संञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अभियान अन्र्तरगत आज सदरमुकाम धादिङवेशीं स्थित विपि चोकबाट तपाईको मास्क खोई ? मास्क अनिवार्य प्रयोग गरौं लेखिएका व्यानर र प्ले कार्ड बोकी जनचेतनामुलक कार्यक्रम सहित बजार परिक्रमा गरेको थियो । साथै मास्क नलगाई हिड्ने सर्वसाधारणहरुलाई मास्क समेत वितरण गरेको थियो ।

नेपाल रेडक्रश सोसाइटी धादिङ र उद्योग वाणिज्य सघ धादिङको सहयोगमा प्राप्त १ हजार थान मास्क वितरण गरेको हो । बजार परिक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्का, स्वास्थ्य कार्यालय धादिङका प्रमुख‚ सशस्त्र प्रहरी बल अनाश्रित गुल्म धादिङवेसीका प्रमुख‚ सरोकारवाला निकाय तथा अन्य संघसस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रले “महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता” भन्ने नाराका साथ एक साताका लागि यो अभियानको सुरुवात भएको हो ।

फोटो हेर्नुहोस् :-


तस्विर : जिल्ला प्रहरी कार्यालय धादिङ