आफन्तको अनुमती विना विरामीको अप्रेशन गर्दा धादिङका एक जना विरामीको मृत्यु भएको छ । काठमाण्डौं स्वयम्भु स्थित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिडेटद्वारा संञ्चालित मनमोहन मेमोरियल अस्पतालमा उपचारत निलकण्ठ नगरपालिका–९, काफलपानीका ५५ वर्षिय धनबहादुर गुरुङको मृत्यु भएको हो ।
भाद्र १ गते अंरिगालले टोकेर धादिङ अस्पतालमा सामान्य उपचार पछि पाटन अस्पताल काठमाण्डौं रिफर भएका गुरुङको पछि थप उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो । विरामीको सघन कक्षमा राखेर उपचार गर्नुपर्छ, पिसाब रोकिएका कारण अप्रेशन पनि गर्नुपर्ने हुन्छ भन्दै अस्पतालले पैसाको बन्दोबस्त गर्नु भनेर जानकारी गराएको विरामीका भतिज पर्ने सन्तोष गुरुङले बताउनुभयो ।
पैसाको व्यवस्था हुन्छ तर छोरा र छोरी ईण्डियाबाट आउँदैछन् उनिहरु नआईन्जेल सम्म केही पनि नगर्नु भन्दा भन्दै पनि डाक्टरले अप्र्रेशन गरेर अहिले विरामीको मृत्यु समेत भएको सन्तोष गुरुङले बताउनुभयो । यति मात्र होईन अस्पताल प्रशासनले विरामी र आफन्त विच हुने सम्झौता पत्रमा पनि विरामीको आफन्तको किर्ते सही गरेको छ ।
विरामी तलमाथी भएको खण्डमा अस्पताल प्रशासन जवाफदेही हुने छैन भन्ने सम्झौता पत्रमा फर्जी सहि गरेर आफुहरुलाई देखाएको आफन्तले बताएका छन् ।
विहिबार राती नै विरामीका आफन्तहरुले अस्पताल परिसरमा आन्दोलन गरेका थिए । आन्दोलन पछि अस्पताल प्रशासनले प्रहरी लगाएर विरामीका आफन्तलाई लखेटेको आरोप छ । अस्पताल प्रशासनले चित्तबुझ्दो जवाफ र मृतकलाई उचित क्षतीपूर्ती नदिएसम्म शव नबुझ्ने मृतकका आफन्तले बताएका छन् । अहिले ९ बजेपछि अस्पताल प्रशासनले वार्ताको लागि बोलाएको मृतकका आफन्तले बताएका छन् ।
यता अस्पतालका सह–प्रशासक बुद्धिमान तामाङले घटनाबारे आफूले सम्बन्धित विभागका डाक्टरलाई बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने बताउनुभयो ।











