
मंसिर १७, धादिङ ।
चिसो बढेसँगै भुकम्पप्रभावितहरुको दैनिकी कष्टकर बन्दै गएको छ । भुकम्पपछि टहरामा बस्दै आएको प्रभावितहरुलाई जाडो थेग्न मुस्किल हुँदा दैनिकी कष्टकर बन्दै गएको हो ।
भुकम्प गएको साढे २ वर्ष भइसक्यो तर प्रभावितहरुले अझै घर बनाउन सकेका छैन् । जसकारण जाडो मौसमापनि टहरामै बस्न बाध्य भएका छन् । आवास अनुदान स्वरुपको पहिलो किस्ता बपतको ५० हजार रकम पाएता पनि अधिकाशं प्रभावितले घरको जग खन्न सकेका छैनन् ।
घर बनाउनको लागि दक्ष कालिगड नहुनु, आवश्यक सामग्री घर सम्म लैजाने बाटो पनि नभएको र घरमा श्रीमानपनि नहुदाँ घर बनाउन नसकेकाले टहराको चिसोमा बस्ने, खाने र सुत्ने गरेको निलकण्ठ नगरपालिका वडा नं ९ की विमला लम्सालले बताउनु भयो । दिन दिनै चिसो बढ्दै गएको र टहरामा जताबाट पनि हावा चिर्ने हुदाँ बच्चा हुर्काउन पनि समस्या भएको त्रिपुरासुन्दरी गाउँपलिका वडा नं २ कि कल्पना पाठकले बताउनु भयो ।
त्यसैगरी भुकम्प पछि सदरमुकाम आसपासका शिविरमा बस्दै आएका प्रभावितहरु पनि चिसो कारण टहरामा बस्न ग्राहो भएको बताउछन् । आफ्नो बासस्थान रहेको गाउँ पहिरोले तहसनहस बनाएपछि प्रभावितहरु सदरमुकास्थित धन्सारपाखा र दामगडे शिविरमा बस्दै आएका छन् ।
जस्ताले बारेको टहराबाट सुतिरहेको ठाउँमा शीत चुहिने र चिसो हुने हुनाले दैनिकी कष्टकर बन्दै गउको उनीहरु बताउछन् । दिनभर घाम तापेर बस्ने प्रभावितलाई साझँ पर्दै गएपछि अव कसरी रात कटाउने भन्ने कुराको चिन्ता गरेको प्रभावितको गुनासो छ ।
मध्यरातदेखि सिरेटोले सताउन थाल्न र लामो हिउँद काट्ने अर्को विकल्प नहुँदा टहराको बसाई कष्टकर भएको प्रभावितहरु बताउनछन् । टहराको भुइबाट चिसो र जस्ता बाट सित चुहिने र ओछ्याउने, ओड्ने लुगा नहुदा समस्या हुने गरेको सदरमुकाम स्थित धन्सापाखा शिविरमा बस्दै आउनु भएको कुल बहादुर तामाङले बताउनु भयो । चिसै कारण बालबच्चाहरु विरामी हुने र उपचार गर्नका लागि पैसा पनि नहुदाँ दैनिकी कष्टकर बन्दै गएको उहाँको भनाई छ ।