
मंसिर २९ धादिङ ।
निलकण्ठ नगरपालिका १० स्थित ज्यामरुङ हनुमानडाँडामा किसानहरुको हितको लागि तरकारी संकलन केन्द्र बन्ने भएको छ । युनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टर र नारी जागरण केन्द्र धादिङको सहयोगमा ज्यामरुङमा तरकारी संकलन केन्द्र बन्ने भएको हो ।
व्यावसायिक कृषि उत्पादनमा जोड दिएर जीवीकोपार्जनमा सहयोग पू¥याउने उद्देश्यले नारी जागरण केन्द्र धादिङले तरकारी संकलन केन्द्रको स्थापना गर्न लागेको हो । पहिले पहिले आफ्नो घरपरिवारलाई खान पुग्ने मात्र तरकारी लगाउने किसानहरु अहिले चेतनाको विकास भएसँगै व्यवसायिक रुपमै तरकारी खेति गर्ने सोचमा छन् ।
ज्यामरुङका कतिपयले त ठूलो लगानि गरेर तरकारी व्यवसाय नै संचालन गर्न थालेका छन् । यसरी आफ्नो घर वरपर सधै बाझो रहने बारीमा तरकारी खेती गर्दा एकातिर आफुलाई समेत सधै ताजा तरकारी उपलब्ध हुने र अर्कोतिर बेचविखन गरेर आफ्नो दैनिकी समेत चलाउन सहज भनेपछि किसानहरु तरकारी खेती गर्न सुरु गरेको बताउछन् ।
किसानहरुले उत्पादन गरेको तरकारी संकलन गरेर चाहेको समयमा बिक्री गर्न सहज बनाउनका लागि तरकारी संकलन केन्द्र स्थापना गर्न लागिएको नारी जागरण केन्द्रका भगवती उप्रेतीले जानकारी दिनुभयो । यस्तै तरकारी संकलन केन्द्र मार्फत धादिङ लगायत अन्य स्थानमा पनि तरकारी बिक्रि वितरण गर्न सकिने हुदा किसानहरुको आयआर्जनमा वृद्धि हुने उप्रेतीले बताउनुभयो ।
नारी जागरणले विभिन्न कार्यक्रममार्फत जिल्लाको विभिन्न स्थानका किसानहरुको जिविकोपार्जनमा सहयोग गर्दै आएको छ । किसानहरुलाई समयसमयमा मौसमी तथा बेमौसमीतरकारी खेतिसम्बन्धी प्राविधिक तालिम दिदै आएको छ । फलस्वरुप अहिले अहिले युवा बर्गमा समेत तरकारी खेतीको आकर्षण बढेको छ ।
नारी जागरण केन्द्रले कृषिमा आधुनिकीकरणसँग युवाहरुलाइ गाउमै रोजगारी पनि प्रदान गरेको युवाहरु बताउछन् । त्यस्तैगरी संस्थाले अहिले गाउँमा ३० जान किसानलाई प्लाष्टिक घर, ३८ जना किसानलाई तरकारी खेती तालिम र गाउँमा ३ वटा टनेल हाउस समेत निमार्ण गरिदिएका छन् ।