साउन २२ गते ।
विश्व स्तनपान सप्ताह २०७९ साउन १६ गतेदेखि २२ गतेसम्म मनाउने कार्यक्रम अनुसार धादिङको बेनीघाट गाउँपालिका विशालटारमा स्तनपान सम्बन्धि शनिवार छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई गोरखाको आयोजनामा पोषण समुहका दुई जिल्लाका २६ जना महिला दिदिबहिनीहरुलाई स्तनपान सम्बन्धि जानकारी गराइएको हो ।

तालिममा स्तनपानको महत्व, स्तनमान गराउदाका फाइदा, शिशु जन्मेको कति समयसम्म र कुन कुन समयमा स्तनपान गर्ने, आमाको दुधको सट्टा प्रयोग गरिने अन्य खाद्यान्नले शिशुमा पर्ने असर जस्ता विषय बस्तुका बारेमा जानकारी गराइएको पूर्ण चेपाङले जानकारी दिनुभयो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ५ ओटा पोषण समुहका १० जना सदस्यहरु, गजुरी गाउँपालिकाका ४ वटा पोषण समुहहरुका ८ जना सदस्यहरु, गोर्खाका गण्डकी गाउँपालिकाका ४ वटा पोषण समुहहरुका ८ जना सदस्यहरु गरि २६ जनाको सहभागीता रहेको चेपाङले जानकारी दिनुभयो ।
कार्यक्रममा क्लष्टर इकाइ गोरखाका वरिष्ठ कृषि अधिकृत केशव देवकोटाले शिुशलाई स्वस्थ राख्न आमाको पोसिलो दुध आवश्यक पर्ने बताउनुभयो । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दुध शिशुको लागि निकै पोषिलो र स्वस्थकर हुन्छ । तर ज्ञान र चेतनाको अभावका कारण धेरै आमाहरुले शिशुलाई बिगौती दुध खुवाउनबाट छुटेका छन् । हरेक आमालाई स्तनपानका विषयमा जानकारी दिने उद्देश्यले छलफल कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक) ले पालिका भित्रका नागरिकले दुइ वटा भन्दा शिशु पाउन नपाउने निति ल्याउन लागिएको बताउनुभयो । आयोजनाले गरेका कामहरुको प्रशंसा गर्दै परियोजना सकेर गएपनि थालनी भएका कामहरुको निरन्तरता पालिकाले गर्ने बताउनुभयो ।
बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीले ६ महिना सम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दुधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दुध खुवाउनुपर्ने बताउनुभयो ।
उनीहरुका अनुसार शिशुलाई २ वर्ष सम्म निरन्तर आमाको दुध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहन्छन् । नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ४५ प्रतिशतको हाराहारीमा मात्रै छ । यस्तै ७० प्रतिशत महिलाले ६ महिनासम्म पूर्ण स्तनपान गराउने गरेका छन् ।