२२ साउन
धादिङ – जिल्ला अस्पताल धादिङले डायलाईसिस सेवाको औपचारिक शुरुवात गरेको छ । बाग्मती प्रदेश सरकारको सहयोगमा अस्पतालले शनिबार एक कार्यक्रमको आयोजना गरी हेमोडायलाइसिस सेवा शुरु गरेको हो ।

डायलाइसिस गराउनकै लागि काठमाडौ लगायत अन्य ठूला शहर धाउनु पर्ने बाध्यता विरामी र उनका आफन्तले मुक्ती पाउने भएका छन् । बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए । ४ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका विरामी लाभान्वित हुने अध्यक्ष धमलाले बताए । ‘पछिल्लो समय मृगौला रोगिको संख्या बढी रहेको छ । बिरामीको चाप हेरेर तिन सिफ्टमा सेवा विस्तार गर्न सकिन्छ, उनले भने ‘अझै केहि विशेषज्ञा सेवा पनि विस्तारका लागि पहल गर्दैछौं । डायलाइसिस सेवा एउटा उदाहरण हो ।’

हेमोडायलाईसिस र पेरिटोनल डायलाइसिस गरी मृर्गौला रोगीहरुलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । धादिङ अस्पतालमा थालिएको हेमोडायलाईसिस हो । कुनै पनि रोगका कारण मृगौलामा असर प¥र्यो भने धादिङ अस्पतालमा डायलाइसिस गर्न सकिने जिल्ला अस्पतालमा कार्यरत अनमी अस्मिता भुसाल बताउँछिन् । आकस्मिक सबै विरामीलाई डायलाइसिस गर्न सकिन्न । उनले भने ‘मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका बिरामीलाई धादिङ अस्पतालमा डायलाइसिस सेवा दिन सकिन्छ ।’ उनले भनिन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा शुरु गरिएको सेवा गुणस्तरिय र भरपर्दाे बनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री पाण्डेले अस्पतालमा डायलाइसिस सेवा शुरु गर्न जति जटिल छ । उत्तिकै सेवालाई गुणस्तर दिनु बनाउनु महत्वपूर्ण रहेको बताउनुभयो ।
सेवा शुरु गर्न जस्तै सेवालाइ राम्रो र निरन्तरता दिन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । उनले भने ‘चिकित्सकलाई तालिम दिएर सक्षम बनाउनुपर्छ । उनीहरुको क्षमता र व्यवहारले बिरामीको रोग निको हुन्छ । शुरु गरिएको सेवा प्रभावकारी बनाउनु हामी सबैको दायित्व हो । धादिङ अस्पतालमा अहिले ५० वेड क्षमता छ । आउँदो वर्ष एक सय वेड क्षमताको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्यसहित अस्पताल अघि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथी एवं बागमति प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अब धादिङका विरामीले डायलाइसिस गराउन बाहिर धाउनु नपर्ने बताउनुभयो । साथै प्रदेश सरकार धादिङ जिल्लाको स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा सधै हातेमालो गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद डा.रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 

Facebook Comments