धादिङमा ३ जना कृषकले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । ४२ औं विश्व खाद्य दिवसको अवसरमा मंगलबार कृषि ज्ञान केन्द्र धादिङले जिल्लाका तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कषक पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेहरुमा थाक्रेका राम बहादुर सुवेदी, त्रिपुरासुन्दरीका नविन सिंखडा र भक्त बहादुर बस्नेत रहेका छन् । उत्कृष्ट कृषकहरुलाई जनहि नगद रु. १० हजार र सम्मानपत्र प्रदान गरिएको छ ।

त्यस्तै दिवसको अवसरमा आयोजना गरिएको विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा बेनिघाटको बागेश्वरी मा.वि की छात्रा सदिक्षा आचार्य प्रथम, बेनिघाटको चन्द्रोदय मा.वि की सिर्जना लोहनी द्धितीय, गजुरीको डोलभन्ज्या मा.वि की विनिता घिमिरे तृतीय र नीलकण्ठको धादिङ आवासिय मा.वि की कृषला श्रेष्ठ सात्वना भएका छन् ।

विद्यार्थीहरुले लेखेको निबन्धमा कृषिमा दिगोपन, अर्गानिक उत्पादनमा जोड, जैविक मल उत्पादनलाई बढावा, वातावरण सन्तुलन, मानव स्वास्थ्यमा सुधार, जैविक मल उत्पादनमा सरकारको लगानी लगाएतका विषयवस्तुहरु समावेश थिए । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले मुख्य पेशा कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै उत्पादन वृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

Facebook Comments