पुस २० धादिङ ।

गत मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा धादिङबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सम्मान गरेको छ ।
बुधवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले जिल्लाका निर्वाचित प्रतिनिधिहरुलाई सम्मान गर्नुभएको हो । सो क्रममा प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट निर्वाचित भुमि त्रिपाठी, प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट निर्वाचित खेमप्रसाद लोहनी, प्रदेश सभा क्षेत्र नम्वर १ (१) का राजेन्द्र प्रसाद पाण्डे, १ (२) का शालिकराम जम्कटेल, प्रदेश सभा क्षेत्र नम्वर २ (१) का डा. रामकुमार अधिकारी र २ (२) का जगत सिंखडालाई महासचिव रमेश विष्टले दोसल्ला ओडाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।

यसैगरी महासंघ जिल्ला शाखा धादिङ निर्वाचित सबै जनप्रतिनिधिहरुलाई संविधान कार्यान्वय र जिल्लाको समृद्धिको खाका कोर्न र प्रेस मैत्री वातावरण निर्माणका लागि भन्दै डायरी र कलम समेत दिएको छ ।  सम्मान कार्यक्रममा बोल्दै निर्वाचित जनप्रतिनिधिहरुले पत्रकारहरुले गरेको सम्मानलाई नभुल्ने भन्दै धादिङका जनताको शिर निहुरिने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै जिल्लाको समृद्धिको लागि पत्रकारहरुको सहयोग जरुरत रहेको भन्दै समय समयमा आफुहरुलाई घचघच्याउन समेत आग्रह गरे । यसअघि जिल्ला समन्वय समिति धादिङले पनि जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो ।

Facebook Comments