
बैशाख ३, २०८०
कास्की– नयाँ गाउँ, ठाउँमा जाँदै गर्दा नयाँ मानिसहरुलाइ त्यस ठाउँको विषयमा विभिन्न किसिमको कौतुहल्ता र जिज्ञासाहरु मनमा आइरहेको हुन्छ । त्याहाँको भूगोल, जनसंख्या, भाषा, धर्म, संस्कार, संस्कृतिको विषयमा विशेष ध्यान दिने गर्दछ ।
यस्तै फरक न्यानो र आत्मिय आतिथ्यताको लागि कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर २ मा रहेको तमू (गुरुङ) जातिको ऐतिहासिक गाउँ र पर्यटकीय क्षेत्रको रुपमा परिचित ताङतिङ “ताेंनी नासा” मा त्यस किसिमको अनुभुति गर्न सकिन्छ । त्याहाँका आमा समुह र स्थानियहरुको फुल, माला र टिका सहितको स्वागत र सम्मानले सबैलाइ नतमस्तक बनाउनुका साथै अमीट गुन लगाउँछ ।
फुल, माला र टिका सहित पाहुनाहरुलाइ स्वागत
त्याहाँ गुरुङ समुदायको आमा समूह, होम स्टे र होटल व्यवसायिहरुका साथै स्थानियको आतिथ्यता, स्वागत, सम्मानका साथै खान पानले मलाइ अमीट प्रभाव पा¥यो । कास्कीको पोखरादेखि करिब २१ किलोमीटरको दुरीमा पर्ने यस गाउँमा सडकको पहुँच पुगेको छ ।
विशेष गरेर यस स्थानमा अन्नपुर्ण हिमालको दृश्यवलोकन गर्न, गुरुङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र थाकथलोको विषयमा अध्यायन तथा अवलोकनको साथै रमाईलो गर्न यस गाउँमा स्वदेशी र विदेशी पर्यटकहरु जाने गर्दछन् । सामुन्नेमा रहेको अर्काे पर्यटकीय गाउँ सिक्लेस पनि देख्न सकिन्छ ।
त्याहाँ स्थानिय खानपान सहित रमाईलो पारिवारिक वातावरणमा समय व्यतित गर्न पाईन्छ । बाक्लो गुरुङ बस्ति रहेको यस गाउँमा करिब दुई सयको हाराहारीमा घरहरु रहेको छ । त्यस मध्ये ९० प्रतिशत गुरुङ समुदाय र बाँकि अन्य समुदायका मानिसहरु बासोबास गर्दछन् ।
ताङतिङ “ताेंनी नासा”
पछिल्लो समय यो ठाउँ आन्तरीक तथा बाह्य पर्यटकहरुको लागि आकर्षक, महत्वपूर्ण र रोजाईको प्रमुख गन्तव्य बन्न थालेको छ । विशेष त त्यस गाउँमा गुरुङ समुदायको ऐतिहासिक थाक थलो, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक स्थलहरु रहेका छन् । यस मार्गबाट गुरुङ सभ्यताको विकास भएको स्थान क्होला सोथर पुग्न सकिन्छ ।
यस ठाउँको अर्काै प्रमुख स्थान क्रपु डाँडा हो । करिब ३ हजार ९ सय मीटरको उचाईमा रहेको यस स्थानबाट हिमशृङखलाहरुको दृश्य अवलोकन गर्न सकिन्छ भने गुरुङ समुदायको ऐतिहासिक स्थलको भग्नावशेष देख्न सकिन्छ । यस स्थानमा हिउँदको समयमा हिउँ खेल्न पनि पर्यटकहरु आउने गर्दछन् । याहाँबाट क्होला सोथर हुँदै लमजुङ पनि पुग्न सकिन्छ ।
पाहुनाहरुलाइ स्वागत
पर्यटन विकासको माध्यमबाट गाउँको विकास र समृद्धि गर्ने याहाँका स्थानियहरुको प्रमुख ध्येय रहेको छ । याहाँका स्थानिय महिलाहरुको स्वामीत्वमा होम स्टे संचालन गरिरहेका छन् । एक समयमा १०० जना भन्दा बढि पर्यटकहरुलाइ सेवा दिन सक्ने होम स्टे संचालनमा रहेको छ ।
यसका साथै अहिले भने निजी होटलहरु पनि संचालनमा आएको छ । याहाँ घुम्न आउने पर्यटकहरुलाइ सिजन अनुसारको स्थानीय उत्पादनको परिकार बनाएर खुवाउने गर्दछन् । यसका साथै साँझमा स्थानिय कला र संस्कृति सहित पर्यटकहरुलाइ मनोरञ्जन दिने गर्दछन् ।
तोंनी नासाको स्थानीय गुरुङ संस्कृति झल्किने नृत गर्दै आमा समूहका कलाकारहरु
यस गाउँलाइ स्थानिय वडा, गाउँपालिका, प्रदेश सरकार सहित विभिन्न गैह्र सरकारी संघ–संस्थाहरुको सहयोगमा आकर्षक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाएर अघि बढ्ने कार्य भएकोे मादी गाउँपालिकाका उपाध्यक्ष एवं तोनी नासाका स्थानीय कल्पाना गुरुङले बताएका छन् ।
यस गाउँको न्यानो र आत्मिय आतिथ्यताको अनुभुत गर्न ऐतिहासिक र पर्यटकिय यस गाउँको कम्तीमा एक पटक भ्रमण गर्नु आवश्यक ठानेको छु ।