
धादिङको नीलकण्ठ नगरपालिकाले दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । नीलकण्ठ नगरपालिकाका विभिन्न तहमा अध्ययन गरिरहेका एक सय ४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
नीलकण्ठ– ११ का सुनिल सुनार अहिले मणिपाल क्याम्पस पोखारामा एमविविएस पढ्दै छन् । गत वर्ष पनि नाम निस्केपछि आर्थिक अभावकै कारण पढ्न नसकेको बताउनुभयो । यो वर्ष भने दुखजेलोसँग व्यवस्थापन हुदैछ । उहाँले भन्नुभयो,– ‘आर्थिक अभावकै कारण पढ्न नपाएको तितो अतित बिर्सन सकेको छैन । ७ वर्ष हुदा बुबा गुमाएँ । निकै दुःख गरेर मलाई आमाले लालनपालन र पढाउनु भयो । दुखैदुखमा हुर्केको मलाई भोलिको भविष्य सुन्दर बनाउन नगरपालिकाले छात्रवृत्ति स्वरुप दिएको वार्षिक ८० हजारले मेरो डाक्टर बन्ने सपना पुरा हुनेछ ।’
नीलकण्ठ नगरपालिका–७ का प्रकाश विश्वकर्मा छात्रवृत्तिले पढाइ निरन्तर गर्न सहज बनेको बताउँछन् । उहाँले भन्नुभयो,– ‘आर्थिक अभावकै कारण पढाइ छाड्नु पर्ने बाध्यता छ । नगरपालिकाले छात्रवृत्ति दियो, पढाईमा सहज हुने भयो । यो कार्यक्रम निरन्तर भए हामी जस्ता गरिव र जेहेन्दार विद्यार्थीले आर्थिक अभावकै कारण पढाई छाड्न पर्ने थिएन ।’
नीलकण्ठ नगरपालिकाले विद्यार्थीको शैक्षिक क्षेत्र र आवश्यकताको मध्य नजर गरी छात्रवृत्ति प्रदान गरेको हो । सुनिल सुनार, रेशु विकले ८० हजार र सिजा विकले ४० हजार पाएका छन् । प्राविधिक तर्फका १० जनाले २५ हजार पाएका छन् । अन्यले विषय हेरेर १२ हजार, ८ हजार र ६ हजार दरले छात्रवृत्ति पाएका छन् ।
छात्रवृत्तिमा पाएको रकम अध्ययनकै लागि प्रयोग गर्न नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन् । जातिय छुवाछुत ऐनमा नभएपनि व्यवहारमा देखिएका छन् । उहाँले भन्नुभयो ,– ‘दलित भनेर हिनता बोध गर्ने होइन । अवसर खोजेर अघि बढ्ने हो । समस्या भए नगरपालिकालाई जानकारी गराउनुस् । समाधान र सहकार्यमा नगरपालिकाले सहयोग गर्छ । विदेशिने क्रमलाई रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न व्यवहारिक शिक्षामा नगरपालिकाले जोड दिएको छ ।’
‘२१ सय शुल्क तिर्न नसकेर धादिङकै एक विद्यार्थीले ज्यान गुमाउनु प¥यो । सरकारले निशुल्क शिक्षा भनेपनि व्यवहारमा ल्याउन सकेको छैन । तर शुल्क तिर्न नसकेर पढाइ छाड्नुपर्ने बाध्यता अन्त्यका लागि नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो ।’ उपप्रमुख दिपक विश्वकर्माले भन्नुभयो,– ‘अब जातिय छुवाछुत र शैक्षिक सुधारका लागि रणनितिक योजना बनाएर नगरपालिका अघि बढ्छ । नि:शुल्क शिक्षा हाम्रो जोड हो ।’