धादिङ अस्पतालले सरकारले तोकेको निशुल्क औषधि शुल्क विना नै वितरण गर्न थालेको छ । निःशुल्क पाइने औषधिमा पैसा असुल्दै सरकारी अस्पताल भन्ने समाचार धादिङ अपडेट डटकम लगायतका सञ्चार माध्यममा प्रकाशन प्रशारण पछि सरकारले तोकेको ९८ प्रकारका औषधि निशुल्क वितरण गर्न थालेको हो । ‘पहिले पैसा लिने धादिङ अस्पतालले समाचारपछि निःशुल्क पाइने औषधिको पैसा लिन छाडेछ । मैले पनि केही औषधि किनेँ ।

पैसा लिएन, खुषी लाग्यो ।’ नीलकण्ठ नगरपालिका–३ धादिङका गणेश बुढाथोकीले भन्नुभयोे,– ‘अहिले त फार्मेसी अगाडी निशुल्क र विमाको औषधि वितरण अनि सःशुल्क औषधि वितरण भनेर दुइ वटा काउण्टर राखिदिएछ । निकै राम्रो भयो । अब विमा गरेका हामीलाई औषधिसहित विल दिए कुन औषधि निःशुल्क कुन विमा र कुन औषधिलाई पैसा तिरेको भन्ने थाहा हुन्थ्यो ।’ अस्पतालमा फेरिएको सेवा प्रवाहसँगै सेवाग्राहीहरु खुषी बनेका छन् । तर धादिङ अस्पतालसँग सेवाग्राहीको अपेक्षा अझै धेरै छन्

निःशुल्क पाइने ९८ प्रकारका सबै औषधि धादिङ अस्पतालमा पाइदैन । निःशुल्क पाइने औषधि शुल्क लिएर विक्री नगरेको जिकिर गर्ने धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डण्ट डाक्टर रुद्रमणी भण्डारी प्रदेश र केन्द्रबाटै औषधि नआएको बताउनुहुन्छ् । अहिले आर्थिक वर्षको अन्त्यमा छौं । उहाँले भन्नुभयो,–‘निःशुल्क पाइने भनिएको ९८ प्रकारका औषधि मध्ये सबै चाँहि अस्पताल फार्मेसीमा छैन ।

केही औषधि केन्द्र र प्रदेशबाट आपूर्ति भएको छैन । आर्थिक वर्षको अन्त्यको प्रभाव पनि हो ।’ औषधि किनि सकेपछि विल पाउनु सेवाग्राहीको अधिकार हो । तर विमा गरेका सेवाग्राहीले औषधि लिदा विल दिने व्यवस्था धादिङ अस्पतालमा छैन । विल नपाउदा निशुल्क, विमा र पैसा परेका औषधि छुट्याउन नसकेको सेवाग्राहीहरुको गुनासो छ ।

कर्मचारी अभावको समस्या देखाएर पन्छिरहेको धादिङ अस्पताल समाचार प्रकाशनपछि भने चासो देखाएको छ । विमा गरेका सेवाग्राहीले साउन १ गतेदेखि औषधिसँगै विल पनि पाउने व्यवस्था गरिने धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताउनुभयो । विमाका विषयमा धेरै खालका समस्या र गुनासाहरु छन् । उहाँले भन्नुभयो,–‘हामी सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गर्दै सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने प्रयासमा छौं । विमा गरेका विरामीले औषधि लिदा साउन १ गनेदेखि विल पनि पाउनुहुन्छ ।’

Facebook Comments