प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षिय ललिता कुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ६ वर्षपछि यहि असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

कानुनबाट बच्न मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रले बताउनुभयो । मलेसिया, दुवई, भारत लगायतका मूलुकहरुमा लुकिछिपी बस्दै आउनुभएको थियो । उहाँले भन्नुभयो– ‘हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो ।’
‘ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौ आएको परिवारले जानकारी दिएका थिए । धादिङको धुनीवेशी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ असोज १२ गते साँझ वेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो । मृतकले लगाएको कपडा चप्पल हेरी भाइले मृतक ललितालाई पहिचान गरेको हो ।’

एसपी मिश्रले भन्नुभयो– ‘मृतक ललिता पेशाले स्टाफ नर्स हुन् । मृतकको मोवाइल तथा प्राविधिक अनुसन्धान पछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुविचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरुविच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो । अहिले मिझारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।’

Facebook Comments