शहरमा,
गोष्ठी चलिरहेको छ
महिलाअधिकारको
सोह्र दिने अभियानको
बत्ती बलिरहेको छ
चोक चोकमा
दीपावलीको
कार्यपत्र, टिप्पणी र तालीको
त्रिपासा चलिरहेको छ
तारे होटलमा ।
अग्लो एरिएल भएका
चिल्ला गाडी
अत्तरीला र बासनादार
सेलिब्रेटीहरु
अधिकार र अभियानका
भाषण गरिरहेका छन् ।
रक्ताम्य भएका
कलिला कोपिला
खाडीमा मरेको दाइ
आँसुले भिजेका थोत्रो तकिया
बोक्सी भनिएर
लखेटिएकी कुटिएकी आमा
दाइजोको दाम्लोमा बाँधिएकी
जिउँदै जलाइएकी
बहिनी
मोफसलमा ।
सोह्र दिने अभियान
सोह्रौ लाख/करोड डलर खर्च
जस्ताको तस्तै फेरि पनि उस्तै
अवस्था ।
सुकिला मुकिला
सेलिब्रेटी
अधिकारकर्मीहरू
काम भन्दा हल्ला धेरै
प्रचारबाजी धेरै
समाचारमा नाम छाउने
फेसबुकमा भाइरल हुने
बस्ती बस्तीमा को आउने ?
गाउँ गाउँमा को धाउने ?
किन दुःख पाउने?
राधे राधे !!
Facebook Comments