चैत्र १९, धादिङ ।
जिल्ला अस्पताल धादिङको बहिरङ्ग विभाग (ओ पि डि) भवनको निमार्ण कार्य पुन सुरु भएको छ । रकम अभावको कारण देखाई केही समय अघि देखि रोकिएर रहेको ओपिडि भवनको विभिन्न संचार माध्यमहरुमा समाचार प्रशारण तथा प्रकाशन भएसङ्गै भवनको पून निमार्ण कार्य सुरु भएको छ ।
२०७४ फागुन २ गते सम्पन्न गर्ने गरी सम्झौता गरिएको ओपिडि भवन एकातिर समयमै बन्न त सकेन नै अर्कोतिर केही समय निमार्ण कार्य नै रोकिदाँ अस्पतालले दिने सेवासुविधा दिन अप्ठ्यारो भएको थियो । तर अव भने उक्त समस्याबाट छुटकारा पाउने चिकित्सकहरुले बताएका छन् । दैनिक करिव २ सय जना बिरामीहरु ओपीडि सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ । दैनिक यतिका धेरै बिरामीहरु आउने गर्छन् तर अहिले संचालनमा रहेको ओपडि भवन सानो हुदा उपचारमा समस्या भएको चिकित्सकहरु बताउछन् ।
निर्माणाधिन अवस्थामा रहेको नया ओपिडि भवन समय मै नबन्दा विरामीहरु पनि मारमा परेका थिए । १ करोड ५० लाख रकम बराबरको काम सकिएसँगै वजेट पनि सकिएका कारण भवन निर्माण कार्य रोकिएको थियो । ३ करोड ४४ लाख रकममा भवन सम्पन्न गर्ने गरी सम्झौता गरिएकोमा त्यो रकमको १ करोड ५० लाख रकम मात्र ओपिडी भवन निर्माणमा खर्च भएको र बाँकी रकम जिल्लाको अतिआवश्यक परेको गाउमा स्वास्थ्य चौकी बनाउन खर्चिनु पर्दा ओ पि डि भवन अलपत्र परेको हिमालयन हेल्थ केयर नेपाल धादिङका जिल्ला परामर्श दाता शम्भुसिंह ठकुरीले बताउनुभयो ।
अहिले ओपिडि भवनको निमार्ण कार्य शुरु भईसकेकाले अव छिट्टै भवन निर्माणको कामले पूर्णता पाउने उहाले बताउनुभयो । २०७४ फागुन २ गते सम्पन्न गर्ने गरी २०७३ साल फागुन ३ गते अमिरीकियरको आर्थिक सहयोगमा हिमालयन हेल्थ केयर नेपालले जिल्ला अस्पताल धादिङको ओ पि डि भवन निमार्ण गर्ने गरि सम्झौता भएको थियो ।