उत्तरी धादिङ खनियाबास गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाकिारीहरुको लागि दुई दिने क्षमता विकास तालिम शुरु भएको छ । खनियाबास गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा धादिङको आयोजनामा तालिम शुरु भएको हो । आईतबार देखि शुरु भएको तालिममा २४ वटा सामुदायिक विद्यालयका २८ जना विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको छ ।
खनियाबास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको तालिम उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष रण बहादर तामाङको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रण बहादर तामाङले खनियाबास गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।
त्यसै गरि उद्घाटन सत्र समापनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको भुमिका अपरिहार्य भएकोले क्षमता विकास तालिम संचालन गर्न आवश्यक भएको बताउनु भयो ।
तालिमको सहजीकरण तथा प्रशिक्षण सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेश कार्यसमितिका महासचिव श्याम बहादुर मगरातीले गरिरहनु भएको छ । सोमबारसम्म संचालन हुने तालिममा विद्यालयमा अभिभावकको सहभागिता अवधारणा र अभ्यास, विद्यालयमा अभिभावक सहभागिता किन र कसरी, विद्यालय व्यवस्थापन समिति भनेको के हो ? विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार, गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भुमिका, प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार, विद्यालय व्यवस्थापनका सवालहरु, विद्यालयको सामाजिक लेखा परीक्षण, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर हुनाका कारणहरु र गुणस्तर सुधारका लागि गर्न सकिने पहल तथा कदमी लगायतका विषयहरुमा छलफल हुनेछ ।