
किसानले सहजै मल पाउने वातावरण नबने सम्म कृषिमा विकास नहुने नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ । १० किलो मल लिनलाई नागरिकता लिएर लाईन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न आफुले निर्देशन दिईसकेको बताउनुभयो । आगामी दिनमा किसानले सहजै मल विउ पाउने वातावरण बनाउन आफुले अध्ययन गरेर काम गर्ने बताउनुभयो ।
प्रेस यूनियन धादिङले शुक्रबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले व्यवसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकासलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित भएको बताउनुभयो ।
यस्तै कृषि पेशालाई सम्मानजनक र आकर्षक पेशाको रुपमा विकास गर्नको लागि कृषि शिक्षा, अनुसन्धान र प्रचार प्रसारको लागि ध्यान दिनु आवश्यक रहेको समेत उहाँले बताउनुभयो । कृषियोग्य भुमिको सदुपयोग, रासायनिक तथा जैविक मलको माग, भईरहेको मलको अभाव, कृषिमा उपकरण, यान्त्रिकिकरण लगायतका विषयमा अध्ययन गरेर आफुले काम गर्दै जाने बताउनुभयो ।
यस्तै नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री अधिकारीले नागरिकको स्वास्थ्यलाई प्रतिकुल असर पर्ने गरि भईरहेको विषादी प्रयोगलाई निरुत्साहित गर्ने बताउनुभएको छ । तरकारीमा प्रयोग हुने विषादी प्राणघातक भएकोले कसैले पनि प्रसय दिन नहुने धारण राख्नुहुँदै मन्त्री अधिकारीले यसको न्यूनिकरणको लागि सरकारले काम गर्ने बताउनुभयो । सरकारले घोषणा गर्ने तर कार्यन्वयन चरणमा नजाने काम आगामी दिनमा नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमकै अवसरमा नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई प्रेस यूनियन धादिङले सम्मान गरेको छ । फुलको गुच्छा सहित दोसल्ला ओढाएर मन्त्री अधिकारीलाई सम्मान गरेको हो ।