
उत्तरी धादिङको खनियावास गाउँपालिकाको वडा नम्बर २ स्थित कलङम्रङ मण्डली चर्च भवनमा एकदिने सचेतनामुलक कार्यक्रम भएको छ ।
खनियाबास गाउँपालिकाको आयोजना र प्रयास नेपाल धादिङको सहकार्यमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला समूह, सामुदायिक संस्थाका, कृषक समुहका प्रतिनिधिहरु, झार्लाङ, बेन्दिदेवी र सिङ्ला गरि ३ वटा माध्यमिक विद्यालयका कक्षा ८ देखि १० का विद्यार्थीहरु, र जनप्रतिनिधि लगायत गरी १ सय ४५ जनाको सहभागितामा रहेको थियो ।
कार्यक्रममा लैंगिक हिंसाका कारण, प्रभाव र रोकथामका उपाय र सिफारिस प्रणालीकोबारे छलफल गरिएको लैगिक सहायक शर्मिला गुरुङले बताउनु भयो । कार्यक्रमका क्रममा धादिङ जिल्ला र खनियावास गाउँपालिकामा महिलाहरुको अवस्था, सवाल तथा बालविवाह अवस्था ,असर र लैंगिक हिंसाका कारण, हिंसाले पार्ने असर, तथा यसलाई रोक्न व्यक्तिहरु, महिला समूह, बाल क्लब, सामाजिक कार्यकर्ता, वडा कार्यालय, महिला तथा बालबालिका शाखा र कार्यपालिकाको भूमिका बारेमा अन्तरक्रिया गरिएको थियोे ।


कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक तथा सहजकर्ता रेनुका रुपाखेती, लैंगिक सहायक शर्मिला गुरुङ र खनियावास गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सन्ध्या उपाध्यायले सहजीकरण गरेका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरुले सामुदायिक प्रतिबद्धता व्यक्त गर्दै, “म हिंसा गर्दिन, म हिंसा सहदिन, र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु“ भनी हस्ताक्षर गरेका छन् । कार्यक्रमले स्थानीयस्तरमा लैंगिक हिंसा रोकथाम र बालविवाह न्यूनीकरण गर्न सहयोग पुग्नेछ । सहभागीहरुले कार्यक्रमलाई फलदायी रहेको भन्दै यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरेका सामुदायिक सहजकर्ता मनिष तामाङले जानकारी दिनु भयो ।