मंसिर २२
इजरायल – नेपाल मगर संघ शाखा इजरायलले १७ जनवरी, २०२५ शुक्रबारका दिन साँझ मगरहरुको मौलिक, ऐतिहासिक तथा साँस्कृतिक रुपमा महत्व राख्ने प्रमुख चाड माघ्या सकराटी “मिनाम ल्हेस ५०१८” मनाउने भएको छ ।
“भेषभुषा, भाषा, धर्म, संस्कृतीको संरक्षण एवंम विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ “माघ्या सकराटी “मिनाम ल्हेस ५०१८” पर्व मनाउन लागेको हो । यस पर्वको अवसरमा “माघ्या सकराटी साँस्कृतिक साँझ तथा शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ । साथमा मगरहरुको मौलिक र साँस्कृतिक प्रस्तुतिहरुको साथमा मौलिक मगर परिकारहरुको स्वाद पनि लिन पाईने आयोजकले जनाएको छ ।
मगराट सभ्यताको एक ऐतिहासिक पर्व “माघ्या सकराटी ” हो । यस पर्वको आफ्नो छुट्टै पहिचान र महत्व रहेको छ । यो पर्व मगर समुदायको नयाँ वर्ष अर्थात “मिनाम ल्हेस” हो । यस पर्वमा मगर समुदायले आफ्ना चेलीबेटीहरुलाइ पुज्ने, पित्री पुज्ने, विभिन्न खेलहरु खेल्ने, आफन्त इष्टमीत्रहरुसंग भेटघाट सहित एकआपसमा शुभकामना आदान – प्रदान गर्ने, मिठो मसिनो खानेकुराहरु खिचडी, तरुल खानुका साथै नाचगान गरि रमाइलो गरेर यो पर्वलाइ हर्सोउल्लासका साथ मनाउने गर्दछन् ।
मगर समुदाय नेपालमा बसोवास गर्ने एक आदिवासी जनजाति हो । यस समुदायको आफ्नो ऐतिहासिक र पूरानो इतिहास छ । जस अन्र्तगत आफ्नै भाषा, लिपि, भेषभुषा, धर्म संस्कार, संस्कृति र रितिरिवाजहरु रहेका छन् । नेपालको विभिन्न क्षेत्रमा मगर समुदायको बसोबास रहेका छन् ।

आउने १७ जनवरी, २०२५ शुक्रबार साँझ ७ बजेबाट इजरायलको आधुनिक शहर तेलअभिव याफो स्थित Matalon St. 73 मा हने कार्यक्रममा सहभागिताको लागि इजरायलमा स्थापित सम्पुर्ण सामाजिक संघ – संस्था, मिडियाकर्मी, लगायत इजरायलमा रहेका सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई निमन्त्राणा गरिएको नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष चित्र जुग्जाली मगरले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारीको शिलशिलामा इजरायलको विभिन्न क्षेत्र र पेशामा रहेका मगर समुदायहरु संगठित भई सन् २०१३, जुलाइ १३ मा नेपाल मगर संघ शाखा इजरायलको स्थापना भएको हो । यस संघले आफ्नो जातिय र समुदायको भाषा, कला, संस्कृतिको संवद्र्धन तथा संरक्षणको लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । मगर संघ इजरायलले समय – समयमा भलिबल, फुटबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ ।
यसका साथै यस संघले प्रवासमा रहेर पनि आफ्नो देश र राष्ट्रको लागि पनि विभिन्न समयमा आइपर्ने प्राकृतिक प्रकोप र विपत्तिहरुमा सामाजिक तथा आर्थिक साथ र सहयोगहरु गर्दै आएको अध्यक्ष जुग्जालीले जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलमा आवद्ध विभिन्न जातिय संघ – संस्थाहरुमा नेपाल मगर संघ इजरायल एक सक्रिय संघको रुपमा स्थापित रहेको छ ।