
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ । जिल्ला अदालत काठमाडौँमा आज बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडाँैं भद्रकालीको हिरासतमा राखिनेछ । अब प्रहरीले नै भोलि लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ । लामिछानेले आज आफै अदालतमा उपस्थित भएकाले परिवारको जिम्मा लगाउन आग्रह गरेको भएपनि न्यायाधीश अधिकारीले प्रहरीको जिम्मा लगाउने आदेश दिनुभएको हो । यसअघि गत बिहीवार पोखराको सुर्यदर्शन सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि लामिछाने आज काठमाडौँ उपस्थित हुनुभएको थियो ।
काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो । जसमा लामिछानेको हकमा सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ । सहकारीबाट गोर्खा मिडियामा उक्त रकम गएको भन्दै सञ्चालकद्वय जिबी राई र रविको हकमा बिगो मागदाबी गरेको हो ।