सूचना उपलब्ध नगराएको भन्दै धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ ।
माग गरेको सूचना गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुरेश थापा र सूचना अधिकारी अनिता छत्कुलीले उपलब्ध नगराएको भन्दै नेप्लिज टाईम्सका सम्पादक टेकामान शाक्यले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन दिनुभएको थियो । त्यहि पुनरावेदन पत्रमाथि आयोगले ज्वालामूखी गाउँपालिकासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सम्पादक शाक्यले २०८१ साल फागुन २० गते सूचना माग गरेका थिए । तर गाउँपालिकाले बेरुजुको बहाना देखाई सूचना नदिएको सम्पादक शाक्यले बताउनुभएको छ । आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश प्रसाद आचार्य र सूचना आयूक्त दुर्गा भण्डारी पौडेलबाट जारी भएको आदेश अनुसार ज्वालामूखी गाउँपालिकाले ७ दिनभित्र सूचना उपलब्ध गराउनू भन्ने आदेश दिन नपर्नाको कारण भए सोको आधार र प्रमाणसहित लिखित जवाफ पेस गर्नुपर्ने आदेशमा भनिएको छ ।
एकदशक भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका शाक्य ज्वालमुखी गाउँपालिकाको स्थायी बासिन्दा समेत हुनुहुन्छ ।










