२०८३ मंसिर १, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ समापन, आज पनि सार्वजनिक बिदा

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ समापन,  आज पनि सार्वजनिक बिदा

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ आज विधिवत् रूपमा सम्पन्न भएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिने यस अनुष्ठान अन्तर्गत हिजो बेलुका अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको हो ।

पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरेर चोखोनितो खाँदै ‘नहाय–खाय’ विधि पूरा गरेका थिए । दोस्रो दिन पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ सम्पन्न गरिएको थियो । त्यसपछि षष्ठीको सन्ध्याकालीन र सप्तमीको प्रभातकालीन अर्घ्य दिएर चार दिन लामो कठोर व्रत पूरा भएको छ । छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा पवित्रता एवं अत्यन्त सावधानी अपनाइन्छ ।

सूर्यदेवको आराधना गर्नाले चर्मरोग निको हुने, सन्तान र धनधान्य लाभ हुने, निर्धनता हट्ने तथा पारिवारिक आरोग्यता प्राप्त हुने जनविश्वास छ । पहिले मुख्यतया तराई–मधेसमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाण्डाै उपत्यकासहित पहाडी क्षेत्र र अन्य समुदायमाझ पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ।

यस वर्ष सरकारले छठ पर्व व्रतको समापनका अबसरमा आज पनि सार्वजनिक विदा दिएको छ । अघिल्ला वर्षहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात कात्तिक शुक्ल षष्ठीका दिन सार्वजनिक विदा दिदै आएकोमा यो वर्ष षष्टी र सप्तमी दुबै दिन बिदा दिएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल