
एशेज टेस्ट शृङ्खला अन्तर्गत आउँदो बुधवारदेखि एडिलेडमा शुरू हुने घरेलु टोली अस्ट्रेलियासँगको तेस्रो टेस्टका लागि ब्याटिङ लाइनअपमा परिवर्तन गर्ने सम्भावना कम रहेको टोलीका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलमले बताएका छन् ।
यसअघिका दुई वटै टेस्ट हारेको इङ्ग्ल्यान्ड शृङ्खलामा २–० ले पछि छ । एशेज शृङ्खला जित्ने सम्भावना कायमै राख्न इङ्ग्ल्यान्डले एडिलेडमा अस्ट्रेलियालाई हराउनै पर्छ ।
यदि इङ्ग्ल्यान्डले ब्याटिङ लाइनअपमा परिवर्तन गर्ने विचार गरेको भए नम्बर तीनका ओली पोप र विकेटकिपर जेमी स्मिथलाई बाहिर राख्न सक्थ्यो ।
टोलीका मुख्य प्रशिक्षक म्याकुलमले व्यवस्थित ब्याटिङ लाइनअप परिवर्तन गर्नु राम्रो तरिका नभएको भन्दै थप आत्मविश्वास कायम राख्नुपर्ने बताएका बीबीसीले जनाएको छ ।
शीर्ष सातमा परिवर्तन नहुने सम्भावना बढेपछि इङ्ग्ल्यान्डले आफ्नो बलिङ लाइनअपमा परिवर्तन गर्न सक्ने खबरमा उल्लेख छ ।
सन् २०२२ मा ब्रेन्डन म्याकुलमले जिम्मेवारी सम्हालेदेखि इङ्ग्ल्यान्डले ४३ टेस्टमध्ये २५ जितेको छ भने १६ हारेको छ ।