२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

३५ वर्ष जेलमा रहेका भूटानी राजनीतिक बन्दीको रहस्यमय मृत्यु

सेयर गर्नुहोस्
०सेयर

भूटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले भूटानका विभिन्न जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये एक शा बहादुर गुरुङको रहस्यमय मृत्युले आफूहरू गहिरो स्तब्ध र अत्यन्त दुःखी भएको जनाएको छ ।

६५ वर्षीय गुरुङको यही डिसेम्बर १५ मा थिम्पुमा रहेको चामगाङ केन्द्रीय कारागारको आफ्नै कोठामा मृत्यु भएको हो । उहाँको मृत्युको परिस्थितिले हिरासतमा लापर्बाही, दीर्घकालीन दुरुपयोग तथा राज्यको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको अभियानले जनाएको छ ।

भूटानको चिराङ क्षेत्रका स्थायी बासिन्दा शा बहादुर गुरुङ सन् १९९० मा रोयल भूटान आर्मीमा कार्यरत रहँदा पक्राउ पर्नुभएको थियो । शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा उहाँलाई पक्राउ गरि आजीवन कारावासको सजाय सुनाइएको थियो । तीन दशकभन्दा धेरै समयसम्म उहाँ मुख्यतः वाङ्दी फोड्राङ जिल्लामा रहेको राबुना कारागारमा थुनिनुभएको थियो, यो कारागार कठोर, अमानवीय तथा अपारदर्शी हिरासत अवस्थाका लागि कुख्यात मानिन्छ ।

अमेरिका तथा अन्य देशमा बसोबास गरिरहेका गुरुङका आफन्त तथा अन्य विश्वसनीय स्रोतहरूका अनुसार राजनीतिक बन्दी शा बहादुर गुरुङले कारावास अवधिभर गम्भीर शारीरिक र मानसिक यातना सहनुपरेको थियो । सुरक्षा निकायका कर्मचारीद्वारा उहाँलाई पटकपटक कुटपिट, अपमान, एकान्त कारावास तथा अन्य अमानवीय व्यवहार गरिएको आरोप छ । गुरुङका आफन्तका अनुसार उहाँलाई ‘(तिम्रो विरुद्ध) मृत्युदण्डको आदेश जारी भइसकेको छ तर तत्काल मार्नुको सट्टा हिरासतमा क्रमशः यातना दिँदै मारिनेछ’ भन्ने कुरा समेत सुनाइएको थियो । दशकौं लामो दुर्व्यवहार र समयमै उपचार नपाउँदा उहाँको स्वास्थ्य अत्यन्तै कमजोर बनेको र अन्ततः त्यसैको परिणाम स्वरूप उहाँको मृत्यु भयो भन्ने परिवारजनको विश्वास छ ।

स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रँदै गएपछि डिसेम्बर २०२५ को शुरुआतमा उहाँलाई राबुना कारागारबाट चामगाङ केन्द्रीय कारागारमा सारिएको थियो । उहाँ १० डिसेम्बर २०२५ देखि त्यहीँ थुनामा हुनुहुन्थ्यो । स्थानान्तरणका क्रममा पनि उहाँलाई आवश्यक चिकित्सकीय उपचार र निगरानी नदिइएको आरोप छ ।

आफन्त तथा अन्य विवरणअनुसार १४ डिसेम्बर २०२५ को साँझ गुरुङले सामान्य रूपमा खाना खाएर सुत्न जानुभएको थियो र कुनै अस्वाभाविक लक्षण देखिएको थिएन । तर यही डिसेम्बर १५ को बिहान उनलाई कोठाभित्र बेहोश अवस्थामा झन्डै निर्जीव जस्तै देखिने गरि फेला पारिएको थियो ।

तत्काल ड्युटीमा रहेका प्रहरीलाई जानकारी गराइए पनि सम्बन्धित अधिकारीहरूले समयमै प्रतिक्रिया नजनाएको बताइएको छ । गुरुङलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याउँदासम्म उहाँको मृत्यु भइसकेको बताइन्छ । त्यसपछि उहाँलाई थिम्पुमा रहेको अस्पतालमा रिफर गरिएको थियो जसबाट स्थानान्तरणका क्रममा उहाँ जीवित रहेको भन्ने देखाउने प्रयास गरिएको परिवारजनको दाबी छ, जबकि उहाँलाई कारागारबाट बाहिर लैजानुअघि नै मृत्यु भइसकेको बताइएको छ ।

गुरुङको मृत्यु १७ डिसेम्बर २०२५ मा मनाइने भूटानको ११८औं राष्ट्रिय दिवसभन्दा ठीक दुई दिनअघि भएको हो । यस अवसरमा राजकीय आममाफीमार्फत राजनीतिक बन्दीहरू रिहा हुने आशा परिवारजन, समर्थक तथा विश्वभरका मानवअधिकारकर्मीहरूले गरेका थिए । तर त्यसको सट्टा सबैभन्दा लामो समयदेखि थुनामा रहेका एक राजनीतिक बन्दीको मृत्युले गहिरो शोक, आक्रोश र चिन्ता फैलिएको छ । यो घटना राज्यको हिरासतमा रहँदा दशकौंसम्म सहनुपरेको दुरुपयोग र उपेक्षाको चरम परिणति भएको आफन्तहरूको भनाइ छ ।

‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटान’ ले शान्तिप्रिय र न्यायप्रेमी भूटानी नागरिक शा बहादुर गुरुङप्रति गरिएको व्यवहार र उहाँको रहस्यमय मृत्युको कडा निन्दा गरेको छ । यस घटनाले भूटानमा राजनीतिक बन्दीहरूमाथि भइरहेको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ र यो ‘ग्रस नेशनल ह्यापिनेस’, करुणा र सचेतनाजस्ता सिद्धान्तका आधारमा निर्माण गरिएको भूटानको अन्तर्राष्ट्रिय छविभन्दा पूर्णतः विपरीत छ ।

संस्थाले भूटान सरकारलाई गुरुङको मृत्युबारे तत्काल गहन, पारदर्शी र निष्पक्ष छानबिन शुरू गर्न आह्वान गरेको छ । साथै स्वतन्त्र बाह्य छानबिन समिति गठन गर्न, त्यसका निष्कर्ष सार्वजनिक गर्न र अपूरणीय क्षतिका लागि उहाँका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ ।

संस्थाले स्वर्गीय शा बहादुर गुरुङलाई भूटानमा मानवअधिकार र न्यायको पक्षमा जीवन अर्पण गर्ने भुटानी शहीदका रूपमा औपचारिक मान्यता दिन माग गरेको छ । उहाँका परिवारलाई सम्मानपूर्वक व्यवहार गर्न, आवश्यक सामाजिक, कानूनी तथा आर्थिक सहयोग प्रदान गर्न र उहँको पीडा तथा बलिदानको कदर स्वरूप उचित मान्यता र क्षतिपूर्ति दिन संस्थाको आग्रह छ ।

संस्थाले भूटानमा अहिले रहेका सबै राजनीतिक बन्दीहरूको विनाशर्त तत्काल रिहाइको माग दोहोर्‍याउँदै अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार संस्था तथा कूटनीतिक नियोगहरूलाई स्थिति नजिकबाट निगरानी गर्न र मानवअधिकार तथा न्याय सुनिश्चित गर्न आवश्यक कदम चाल्न पनि आह्वान गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।