फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै धादिङ जिल्लामा पनि नेपाली सेनाको परिचालन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ जिल्लाका विभिन्न स्थानमा सेना परिचालन गरिएको हो ।
सेनाका अनुसार धादिङको नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गजुरी गाउँपालिका, गंगाजमुना गाउँपालिका र रुबिभ्याली गाउँपालिकालाई आधार क्षेत्र बनाएर सेना परिचालन गरिएको छ । यी स्थानबाट जिल्लाका संवेदनशील क्षेत्रहरूमा आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
निर्वाचन अवधिभर सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गरी सुरक्षा व्यवस्था मिलाइने छ । मतदाता, उम्मेदवार तथा निर्वाचन प्रक्रियामा संलग्न सबै पक्षको सुरक्षालाई प्राथमिकतामा राख्दै सेना परिचालन गरिएको सम्बन्धित निकायले जनाएको छ ।
निर्वाचनलाई व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय परिचालित भइसकेको छ । मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ ।
सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । फागुन २१ गते हुने चुनावलाई केन्द्रित गरी नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूपमा परिचालन हुन लागेका हुन् ।










