धादिङको ज्वालामुखी गाउँपालिका हुलाकभञ्ज्याङका अनुप शाक्यले चिनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दोहोरो स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।
गोंगबुस्थित गोंगबु तेक्वान्दो डोजाङका खेलाडी अनुपले चीनको सान्या शहरमा आयोजित हाइनान बीच खुला तेक्वान्दो च्याम्पियनसिप २०२६ अन्तर्गत ३२ केजी ग्योरोगी र १०–१२ वर्ष उमेर समूहको पुम्से विधामा स्वर्ण पदक जित्नुभएको हो । विलमान शाक्य र शर्मिला शाक्यका छोरा अनुप शाक्यको यो जितले धादिङसहित देशभरका बाल खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप प्रेरणा मिलेको छ ।
सान्या तेक्वान्दो एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालसहित १६ राष्ट्रको सहभागिता रहेको थियो। प्रतियोगितामा करिब चार सय खेलाडी सहभागी थिए । भने यस प्रतियोगीतामा नेपालले १२ स्वर्णसहित कुल ३४ पदक जित्न सफल भएको छ ।









